ललित बसेल
सुर्खेत, माघ २८ गते । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ को दुर्गम र विकट बस्ती रेक्चाका गाउँले यतिबेला रुष्ट छन् । उम्मेदवारले निर्वाचनैपिच्छे गाउँ विकासको वाचा गर्ने तर पूरा नभएपछि उनीहरू रुष्ट बनेका हुन् । गाउँमा खानेपानीको चरम अभाव छ । खानेपानीकै अभावमा १० वर्षको अवधिमा त्यहाँका ५० प्रतिशत स्थानीय अन्यत्र बसाइँ सरिसकेका छन् । अहिले उक्त गाउँमा ७० घर मात्र छन् ।
गाउँका स्थानीय तपेन्द्र बुढाक्षेत्रीले प्रत्येक निर्वाचनमा विकास गर्छु भनेर मत लिने र कुनै काम नै नगरेपछि यसपालिको निर्वाचनमा यहाँका मतदाता रुष्ट भएका बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा खानेपानी, सडक, विद्युत् ल्याउँछौँ मत दिनुस् भने; मत पनि दिइयो तर अहिलेसम्म कुनै काम भएन । त्यसैले यहाँका मतदाता रिसाएका छन् ।” गाउँका बासिन्दा भेला भएर यस पटक मतदानमा के गर्ने भन्ने विषयमा व्यापक छलफल गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । गाउँको विकास नै नगर्नेलाई मत किन दिने भनेर मत बहिष्कार गर्नेसम्मको योजना रहेको उहाँले बताउनुभयो ।
गाउँमा खानेपानीको व्यापक समस्या छ । स्थानीयले पुराना र जीर्ण इनारको पानी पालो लगाएर प्रयोग गर्ने गरेका छन् । खडेरीको समयमा इनारमा चौकीदार राख्ने गरिन्छ । गाउँमा विद्युत् पनि छैन । पालिकाको केन्द्र गुटुबाट करिब १२ किलोमिटरको दुरीमा गाउँ रहेकाले सडक पनि गतिलो छैन । यसका कारण गाडी पनि चल्दैन । आफूले प्रत्येक पटक खानेपानी, सडक, विद्युत् र स्वास्थ्यको विकासको माग राखे पनि अहिलेसम्म पूरा हुन नसक्दा गाउँवासी सबै रुष्ट भएको बुढाक्षेत्रीले बताउनुभयो । यसै गरी अर्का बासिन्दा लोकबहादुर बुढाक्षेत्रीको पनि उस्तै पीडा छ । गाउँबस्तीको विकास नहुने भएपछि मतदान किन गर्ने भनी उहाँले प्रश्न गर्नुभयो । बारम्बार उही माग राख्ने गरिएको र सुरुमा हुन्छ पूरा गर्छौं भन्ने तर पछि वास्ता नगर्दा रेक्चागाउँको विकास हुन नसकेको उहाँको भनाइ छ । अहिलेसम्म सो गाउँमा मत माग्न कुनै पनि उम्मेदवार पुगेका छैनन् । मत माग्न आउनेसँग आफ्ना माग पूरा गर्ने प्रतिबद्धता मागिने उहाँले बताउनुभयो ।
अहिले कादुरी नामक एउटा संस्थाले सो गाउँमा पानीको समस्या समाधान गर्न डिप बोरिङ खन्ने तयारी गरेको छ । गाउँमा विद्युत् नपुग्दा डिप बोरिङ गर्ने कामसमेत हुन सकेको छैन । आगामी फागुनमा बोरिङ खन्ने तयारी गरिएको बताउँदै वडा सदस्यसमेत रहेका तपेन्द्र बुढाक्षेत्रीले भन्नुभयो, “अहिलेसम्म उम्मेदवार गाउँमा मत माग्न आएका छैनन् ।” उहाँले विगतमा गाउँमा वाचा अनुसारको कुनै काम नभएको हुँदा कुनै पनि दलका उम्मेदवारलाई मत माग्न नआउन पनि आग्रह गरिएको जानकारी दिनुभयो । गाउँमा करिब तीन सय मतदाता रहेका बताइएको छ ।