• २८ माघ २०८२, बुधबार

मतदान स्थल अति संवेदनशील

blog

अति संवेदनशील मतदान स्थल अनुगमन गर्दै जिल्ला सुरक्षा समितिको टोली । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता 

कालीकोट, माघ २८ गते ।  जिल्लाका ७४ मतदान स्थल अति संवेदनशील रहेको पाइएको छ । जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका १०३ मतदान स्थलमध्ये ७४ मतदान स्थल अति संवेदनशील भएको जनाएको छ । एउटा मात्र निर्वाचन क्षेत्र भएको कालीकोटमा कुल १०३ मतदान स्थलका १२७ मतदान केन्द्र छन् । 

निर्वाचनमा सुरक्षाका दृष्टिले अति संवेदनशील जिल्लाका रूपमा चिनिँदै आएको कालीकोटमा ७४ वटा मतदान स्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताउनुभयो । उहाँका अनुसार २९ मतदान स्थल संवेदनशील छन् भने सदरमुकाम मान्मस्थित कारागार र बालमन्दिर मतदान स्थल मात्र सामान्यमा राखिएको छ ।

विगतका निर्वाचनमा भएका हिंसा, भौगोलिक विकटता, यातायातको असुविधा, सञ्चारको पहुँचलगायत सूचकका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरेर सुरक्षा रणनीति तय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । पलाँता, पचालझरना, सान्नीत्रिवेणी, नरहरिनाथ, शुभकालिका र महावै गाउँपालिकाभित्रका मतदान स्थललाई अति संवेदनशीलमा राखिएको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालीकोट जिल्लामा दुई हजार १९६ सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनका लागि ५०९ नेपाल प्रहरी, चार सय नेपाली सेना, १८५ सशस्त्र प्रहरी र एक हजार १०२ जना निर्वाचन प्रहरी गरी कुल दुई हजार १९६ सुरक्षाकर्मी परिचालन गरिने छ । 

कालीकोटमा नेपाल प्रहरीको दरबन्दी ५०९ भए पनि हाल जिल्लामा ३४८ जना मात्र छन् । अन्य विभन्नि जिल्लामा काजमा बसेका छन् । जिल्लाको सुरक्षा संवेदनशीलता हेरेर आवश्यकता अनुसार जुम्ला र सुर्खेतबाट थप सुरक्षाकर्मी पनि बोलाउन सकिने जिल्ला सुरक्षा समितिले जनाएको छ । अति संवेदनशील मतदान केन्द्रमा १४ जना प्रहरीसहित, सशस्त्र प्रहरी, सेना र निर्वाचन प्रहरी परिचालनको योजना बनाइएको छ । फागुन २१ को चुनावमा हिमपात हुन सक्ने आकलन गरेर जिल्लाभरका १४ मतदान केन्द्रलाई पनि अति संवेदनशीलमा राखिएको छ । जिल्लाको महादेव मावि फोइकोट, मालिका मावि बजेडीचौर, दुर्गा मावि रताडा, जनता मावि रुप्सा, दीपेन्द्र मावि, शिवालय मावि चिल्खायालगायतका मतदान केन्द्रलाई हिमपातका दृष्टिले अति संवेदनशील मानिएको छ । कालीकोटमा दुई स्वतन्त्रसहित १० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस पटक कालीकोटमा ४४ हजार ६०३ पुरुष र ४० हजार ४३ महिला गरी कुल ८४ हजार ६४६ मतदाता छन् ।