गोरखापत्र अनलाइन
काठमाडौं, माघ २७ गते । आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले नेपाल आदिवासी ज्ञान सम्मेलन २०८२ केवल औपचारिक प्राज्ञिक कार्यक्रम मात्र नभइ आदिवासी ज्ञान, विज्ञान, दर्शन, अनुभव र अभ्यासको जीवित संगम बन्न पुगेको अनुभूति भएको बताउनुभएको छ ।
रजत जयन्तीको अवसरमा माघ २५ देखि २७ गतेसम्म सञ्चालन भएको सम्मेलनको उदघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो । सम्मेलनको समापन मन्तव्य राख्दै उपाध्यक्ष गुरुङले सो कुरा बताउनुभयो ।
“ज्ञानको आदान–प्रदान, धरोहरको संरक्षण र भविष्यको निर्माण” भन्ने मूल नाराका साथ आयोजना गरिएको ज्ञान सम्मेलनको सफलताले गौरव अनुभूति भएको उहाँले बताउनुभयो । “आज हामी8 यहाँ केवल एउटा सम्मेलन वा महोत्सवको औपचारिक समापन गर्न एकत्रित भएका
होइनौँ, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २५ वर्षे संस्थागत यात्राको समीक्षा, आदिवासी ज्ञान प्रणालीको पुनर्पुष्टि र भविष्यका लागि ज्ञानको माध्यमबाट दृष्टि र दिशा निर्माण गर्न पनि उभिएका छौँ” उहाँले भन्नुभयो ।
सम्मेलनको क्रममा आदिवासी ज्ञानका विविध आयाम समेट्ने गरी चारवटा प्रमुख विषयगत प्यानल छलफल सम्पन्न भएको उहाँले बताउनुभयो । प्यानल छलफलहरूमा आदिवासी शिक्षा प्रणाली, परम्परागत कृषि र खाद्य सम्प्रभूता, टजैविक विविधता र जलवायु परिवर्तन, मौलिक शासन प्रणाली, भाषा र सांस्कृतिक संरक्षण, तथा समकालीन विकासका चुनौतीहरूसँग आदिवासी ज्ञानको सम्बन्धमाथि गहिरो, तथ्यपरक र सार्थक विमर्श भएको उहाँको भनाइ छ ।
सम्मेलनमा देश तथा विदेशका अनुसन्धानकर्ता र विद्वानहरूबाट ६६ वटा गहन अनुसन्धानात्मक कार्यपत्रहरू प्रस्तुत भएको उहाँले बताउनुभयो । कार्यपत्रहरूले आदिवासी ज्ञान प्रणालीको वैज्ञानिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक र दार्शनिक पक्षलाई बौद्धिक मञ्चमा सशक्त रूपमा स्थापित गरेको दावी गर्नुभयो ।
सम्मेलनमा ८०० भन्दा बढीको सहभागिता रहेको थियो । सबैप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले प्राज्ञिक प्रतिनिधिहरूको सक्रिय, उत्साहपूर्ण र अर्थपूर्ण सहभागिताले कार्यक्रमलाई जीवन्त, समावेशी र अन्तर्राष्ट्रियस्तरको बनाएको बताउनुभयो । सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।