सन्तोष दहित
दाङ, माघ १९ गते। सुकुम्वासी र भूमिहीनको समस्या नेकपा (एमाले) ले गर्ने महासचिव शङ्कर पोखरेलले बताउनुभएको छ । दाङ निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शङ्कर पोखरेलले आफू त्यसका लागि लाग्ने प्रतिबद्धता जनाउनुभएको हो ।
सोमबार बिहान मतदातासँगको भेटघाटको क्रममा मतदाताको जिज्ञासामा उहाँले भन्नुभयो, “एमालेको सरकार हुँदा भूमिहीन र सुकुम्वासीको समस्या समाधानका लागि निरन्तर काम हुँदैआएको छ। धेरै स्थानमा लालपुर्जा वितरण भइसकेको छ, विपक्षी दलहरूले कहिले सर्वोच्चमा मुद्दा हालेर, कहिले हाम्रो सरकार ढालेर र आयोग विघटन गरेर अवरोध सिर्जना गर्दैआएका छन्।”
उहाँले थप्नुभयो, “यद्यपि हामी निरन्तर लागिरहेका छौं। अब बाँकी भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा वितरण पूरा गर्न सूर्यमा मतदान गरी सहयोग गर्न आवश्यक छ ।” महासचिव पोखरेलका अनुसार सुकुम्वासीको समस्या समाधानका लागि एमाले बाहेक अन्य कुनै दल सक्षम छैन।
उहाँले भन्नुभयो, “हाम्रो सरकार रहँदा भूमिहीन–सुकुम्वासी समस्या समाधानका लागि नीति निर्माण गरेर आयोगमार्फत काम भइरहेको थियो। अब त्यसलाई पूर्णता दिन जनताको साथ र सहयोग आवश्यक भएकाले हामी तपाईंहरूसमक्ष पुनः आएका हौं।”