• १७ माघ २०८२, शनिबार

बुवा र छोराको फरक फरक दल

blog

खलङ्गा समाचारदाता

खलङ्गा (दार्चुला), माघ १७ गते । दार्चुला सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिका–९, दत्तु काँटैका कांग्रेसका नेता चन्द्रसिंह सामन्त र राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेशसिंह सामन्त नाताले बुवाछोरा हुनुहुन्छ । उहाँहरू दुवै जना अहिले गाउँ गाउँमा सँगै गएर आआफ्नो पार्टीको प्रचारप्रसार गरिरहनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन बुवाछोराले आआफ्नो पार्टीका एजेन्डा लिएर प्रचारप्रसार गरिरहनुभएको छ ।

रास्वपा दार्चुलाले माघ १२ गते यहाँको मालिकार्जुन गाउँपालिकामा रहेको राष्ट्रकै सातौँ धाम मालिकार्जुन मन्दिरमा पूजाआजा गरेर आफ्नो चुनावी अभियान सुरु गरेको रास्वपा दार्चुलाका संयोजक एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेशसिंह सामन्तले जानकारी दिनुभयो । बुवा चन्द्रसिंह सामन्तलाई आफूसँगै राखेर उहाँले चुनावी अभियानको सुरुवात गर्नुभएको हो । चन्द्रसिंह सामन्तलाई यसअघि गत मङ्सिर २५ गते नेपाली कांग्रेस दार्चुलाले राष्ट्रिय सभाको पुरुषतर्फ उम्मेदवार सिफारिस गरेको थियो । 

चन्द्रसिंहका तीन छोरामध्ये माइला छोरा ५२ वर्षीय राजेशसिंह सामन्त रास्वपाको सक्रिय राजनीतिमा होमिएर प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ । घरमा फरक दल भए पनि प्रचारप्रसारका लागि सँगै हिँडिरहेको उम्मेदवार राजेशसिंह सामन्तले जानकारी दिनुभयो । “राजनीतिक दलका हिसाबले बुवा म फरक छौँ, प्रचारप्रसारमा सँगै जान्छौँ, उहाँले आफ्नो पार्टीको प्रचार गर्नुहुन्छ, मैले आफ्नो पार्टीको प्रचार गर्छु,” उहाँले भन्नुभयो ।

यता कांग्रेस नेता चन्द्रसिंह सामन्तले राजनीतिक दल र आस्था फरक भए पनि छोरासँगै पार्टीको चुनावी अभियानमा गइरहेको बताउनुभयो । “हाम्रो पार्टीले गरेका विकास र भावी योजनाबारे मैले प्रचार गरिरहेको छु, छोराले पनि आफ्नो पार्टीको प्रचारप्रसार गरिरहेको छ”, उहाँले भन्नुभयो । दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका लागि एमालेका पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, कांग्रेसका युवा नेता धर्मानन्द जोशी, नेपाली कम्युनिस्ट पार्टीका लक्ष्मणदत्त जोशी, राप्रापाका राजेश चन्द, जनमोर्चाका बिर्खराज पन्त, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावल, नेकपा संयुक्तका विद्यादेव जोशी, नेपाली कम्युनिस्ट पार्टीका नवराज भट्ट, आमजनता पार्टीका प्रेमसिंह बडाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्नासहित ११ जनाले उम्मेदवारी दिनुभएको छ ।