• १६ माघ २०८२, शुक्रबार

सहिद दिवसको अवसरमा प्रभातफेरी

blog

महेन्द्रनगरमा प्रभातफेरी कार्यक्रममा सहभागीहरू । तस्बिरः भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

कञ्चनपुर, माघ १६ गते । सहिद दिवसको अवसर पारी कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार बिहान जिल्ला समन्वय समितिको कार्यालयबाट निकालिएको प्रभातफेरी कार्यक्रममा पूर्व मन्त्रीहरू, सुरक्षाकर्मीहरू, विभिन्न कार्यालयका प्रमुख, सङ्घ संस्था लगायत विभिन्न विद्यालयका विद्यार्थी सहभागी हुनुभयो । 

सहिद दिवस २०८२ को अवसरमा जिल्ला समन्वय समितिको कार्यालयले बाजागाजासहित आयोजना गरेको प्रभातफेरीमा सहभागीले “वीर सहिद अमर रहन्, हाम्रा सहिद अमर रहुन्” लगायतका पम्प्लेट हातमा समाउँदै नारा लगाएर बजार परिक्रमा गर्नुभयो । 

सहिद दिवसका अवसरमा महेन्द्रनगरस्थित सहिद दशरथ चन्दको शालिकमा श्रद्धाञ्जली व्यक्त गर्दै सहभागीले माल्यार्पण गर्नुभयो । माल्यार्पण कार्यक्रममा पूर्वमन्त्री नारायणप्रकाश साउद, डा. दीपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्गबहादुर खत्री, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा लगायत उपस्थिति थियो । 

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको छ ।