• १० चैत २०८२, मङ्गलबार

आचारसंहिता विपरीत गतिविधि

blog

राजविराजमा आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउँदै प्रहरी । तस्बिर : विनय कर्ण

विनय कर्ण 

कल्याणपुर (सप्तरी), माघ १६ गते । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारले आचारसंहिता विपरीत गतिविधि गर्दै आएका छन् । मतदाता रिझाउन उम्मेदवार नयाँ नयाँ तरिकासहित  आचारसंहिता विपरीत बैठक, घरदैलोदेखि खेतबारी र खेलकुद प्रतियोगिता भइरहेका स्थानसम्म पुगेर मतदाता रिझाउने प्रयासमा जुटेका हुन् । 

निर्वाचन आचारसंहिताले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचारप्रसार गर्न समयसीमा निर्धारण गरेको छ । उम्मेदवारले  त्यसलाई छल्दै विभिन्न तरिका अपनाएर प्रचारप्रसारमा लागेको देखिएको हो । बजारका चोकमा झन्डा, ब्यानर लगायतका सामग्री झुन्ड्याउनु साथै ई-रिक्सामा पनि आफ्नो तस्बिर र चुनाव चिह्न अङ्कित ब्यानर झुन्ड्याएर आचारसंहिता विपरीत प्रचारप्रसारमा जुटेका छन् । 

अरू बेला भेट नहुने नेता अहिले घर, खेतबारी तथा खेल प्रतियोगितास्थल पुगेर भोट माग्न थालेको तिलाठी कोइलाडी–१ का पङ्कज झाले बताउनुभयो । उहाँले तिलाठी कोइलाडी गाउँपालिकामा जारी साकेतचन्द्र मिश्र स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता चलिरहेकै बेला विभिन्न दलका उम्मेदवार खेल स्थानमै पुगेर मतदाता रिझाउने प्रयासमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतियोगिता हेर्न आएका दर्शकमाझ कतिपय उम्मेदवार आचारसंहिता बिर्सेर आफ्नो पक्षमा मत माग्दै भाषण पनि गरेका छन् ।” राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता विपरीत बजारका मुख्य स्थानमा झुन्ड्याइएको झन्डा, पोस्टर, ब्यानर लगायतका प्रचार सामग्री हटाउन सुरु गरेको छ ।

प्रचार सामग्री हटाइँदै 

सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ स्थित राजविराजमा निर्वाचन अधिकृतको कार्यालयले प्रहरीको सहयोगमा बिहीबार बजारका विभिन्न स्थानबाट आचारसंहिता विपरीतका प्रचार सामग्री हटाएको हो । जिल्लाका चार वटै क्षेत्रमा आचारसंहिता कार्यान्वयन गराउन र त्यसविपरीत झुन्ड्याइएको प्रचार सामग्री हटाउन सुरु गरिएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिनुभयो । 

मुख्य निर्वाचन अधिकृत घिमिरेले भन्नुभयो, “राजविराज नगरपालिकाबाट आचारसंहिता विपरीत प्रचार सामग्री हटाइसक्यौँ, जिल्लाका अन्य स्थानमा हटाउन सुरु गरिएको छ ।” उहाँले सवारी साधनमा लगाएको ब्यानर, झन्डा हटाउन जिल्ला प्रहरी कार्यालय सप्तरीसँग समन्वय गरी काम सुरु गरिसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाडीमा लगाइएको झन्डा, ब्यानरसहितका सामग्री नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन गरिसकिएको छ  ।”