जनकपुरधाम समाचारदाता
जनकपुरधाम, माघ १६ गते । गणतान्त्रिक सहिद दुर्गानन्द झाको योगदानलाई स्मरण गर्दै उहाँको ६२ औँ बलिदानी दिवसका अवसरमा विभिन्न दलका नेता तथा कार्यकर्ताले माल्यार्पण गरेका छन् ।
बिहीबार सहिद झाको सहादत दिवसका अवसरमा धनुषा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत विभिन्न स्थानमा स्थापित सालिक तथा सहिदद्वारमा माल्यार्पण गर्दै नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा नै उहाँप्रतिको वास्तविक सम्मान हुने बताउनुभयो । उहाँले सहिदको बलिदानले साकार पारेको गणतन्त्रलाई कमजोर बनाउने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट पार्नुभयो ।
जनकपुरधाम उपमहानगरपालिका–२३, बेलास्थित निर्माण गरिएको सहिद झाको पूर्ण कदको सालिक र जटहीस्थित सहिद दुर्गानन्द झा प्रवेशद्वारमाथि रहेको सालिकमा समेत निधिले श्रद्धाञ्जली अर्पण गर्नुभयो । कार्यक्रममा सहिद झाको सङ्घर्ष, योगदान र विचारबारे चर्चासमेत गरिएको थियो । मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले सहिद दुर्गानन्द झा राष्ट्र र जनताका लागि प्रेरणादायी व्यक्त्वि भएको उल्लेख गर्नुभयो । उहाँले सहिद झाको ऐतिहासिक भूमिका, योगदान र बलिदानलाई भावी पुस्तासम्म सुरक्षित राख्न विशेष अभिलेखालय स्थापना गर्न आवश्यक रहेको धारणा राख्नुभयो । सभामुख यादवले सहिद दुर्गानन्द झाका सहयात्री क्रान्तिवीर महामना राजेश्वर नेपालीको निरन्तर प्रयासका कारण पूर्ण कदको सालिक निर्माण सम्भव भएको उल्लेख गर्दै त्यसप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
जनकपुरधाम उपमहानगरपालिका–२३, बेलास्थित निर्माण गरिएको सहिद झाको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै नेकपा (एमाले) का नेतृ जुलीकुमारी महतोले नेपालमा गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिनुभएका प्रथम गणतान्त्रिक सहिद दुर्गानन्द झाको योगदानको स्मरण गर्नुभयो । राणा शासनविरुद्धको आन्दोलन र गणतन्त्र स्थापनाको सङ्घर्ष बिचको भिन्नता औँल्याउँदै गङ्गालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराजले राणा शासनविरुद्ध लड्दा तत्कालीन राजाको समर्थन रहेको उल्लेख गर्नुभयो । उहाँले प्रथम गणतन्त्रवादी सहिद दुर्गानन्द झाले भने राजतन्त्रकै अन्त्यका लागि निर्भीक रूपमा बलिदान दिएको स्पष्ट पार्नुभयो ।