विष्णुप्रसाद पोखरेल
दमक, माघ १६ गते । झापाको क्षेत्र नं. ३ यस पटकको प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै चासोका साथ हेरिएको निर्वाचन क्षेत्रमध्ये एक बनेको छ । अघिल्ला दुई निर्वाचनमा निर्णायक बनेको दलगत तालमेल यो पटक भत्किएको छ ।
यसभन्दा अघि तालमेलमा भएको यहाँको चुनाव विचार, व्यवस्था र राजनीतिक हैसियतको खुला प्रतिस्पर्धामा रूपान्तरित भएको छ । हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), गणतन्त्रवादी मुख्य धारका दल कांग्रेस र एमाले, तथा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका अन्य दलका उम्मेदवार एकै मैदानमा एक्लाएक्लै निर्वाचनमा लागेका छन् ।
नेकपा (एमाले) को सहयोगमा झापा क्षेत्र नं. ३ बाट लगातार दुई पटक निर्वाचित भएर उपप्रधानमन्त्रीसमेत बनेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन यस पटक भने एक्लै चुनावी दौडमा रहनुभएको छ । राष्ट्रिय राजनीतिमा पकड रहेका कारण यस पटक यसै क्षेत्रबाट जितेर ‘ह्याट्रिक’ गर्ने उहाँका स्थानीय नेता कार्यकर्ताले बताउने गरे पनि यहाँ निर्वाचन जित्न त्यति सहज देखिँदैन ।
बहुसङ्ख्यक जनताको माग अनुसार संविधान संशोधन तथा हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापनासँगै स्थानीय विकासलाई जनताले अनुमोदन गर्ने लिङ्देनले बताउँदै आउनुभएको छ । आफूहरू आफ्नै धरातलमा उभिएर निर्वाचनमा होमिएकाले जनताले विश्वास गर्ने उहाँको दाबी छ ।
कांग्रेसबाट नयाँ उम्मेदवार
समानुपातिक मतलाई हेर्दा कांग्रेस आशावादी देखिन्छ । व्यावसायिक क्षेत्रमा आफ्नो पहिचान बनाएका र चिनिएको अनुहार कांग्रेसले अघि सारेको छ । नयाँ उम्मेदवार राजेन्द्र घिमिरेको भूमिका, कार्यकर्ता व्यवस्थापन र मत एकीकरण कांग्रेसका लागि निर्णायक हुने बताइन्छ । निर्वाचन जित्ने दाबी गर्दै घिमिरेले भन्नुभयो, “हामी गणतन्त्र र जनताले ल्याएको परिवर्तनका पक्षमा स्पष्ट भएर उभिएका छौँ ।”
एमाले उत्साही
एमालेका नेता वसन्त बानियाँले यो निर्वाचन क्षेत्रमा १२ वर्षपछि एक्लै निर्वाचन लड्दा धेरै नै उत्साहित भएको बताउनुभयो । नेकपा (एमाले) बाट संविधान सभा सदस्य हरिबहादुर राजवंशी उम्मेदवार बन्नुभएको छ । यो क्षेत्र आदिवासी बाहुल्यता रहेको क्षेत्रका रूपमा चिनिन्छ । आफूहरू उत्साहित भएर चुनावी अभियानमा होमिएको राजवंशीले बताउनुभएको छ । आदिवासी समुदायको बाहुल्यता रहेको यहाँ आदिवासीलाई पार्टीले उम्मेदवार बनाएकाले यहाँका आदिवासी समुदाय धेरै उत्साहित रहेको उहाँको भनाइ छ ।
मत माग्दै नेकपा
नेकपाबाट डिल्लीराम घिमिरे ‘हिक्मत’ सहित १७ जना उम्मेदवार चुनावी मैदानमा अहिले डटिरहनुभएको छ । घिमिरे युवा कम्युनिस्ट नेता हुनुहुन्छ । उहाँहरू सबैले आफूले जित्ने दाबी पनि गर्नुभएको छ । सुशासन र स्थिरता नै आफ्नो प्रमुख एजेन्डा बनाएर जनतामाझ गइरहेको उहाँले उल्लेख गर्नुभयो ।
रास्वपाको दाउ
कांग्रेस, एमाले र राप्रपाबिचको कडा प्रतिस्पर्धा हुने र बिचबाट आफ्नो जित हुने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठक निर्वाचन अभियानमा जुट्नुभएको छ । ठुला राजनीतिक दलको मत विभाजन चर्किएमा रास्वपाले अप्रत्याशित नतिजा निकाल्न सक्ने बताइने गरेको छ । पाठकले जनताले परिवर्तन र युवा खोजेकाले आफूले जित्ने दाबी गर्नुहुन्छ ।
अघिल्लो निर्वाचनको अङ्कगणित
२०७९ सालमा भएको निर्वाचनमा लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गर्नुभएको थियो । त्यो समय एमालेको साथ रहेको थियो । लिङ्देनले कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्नुभएको थियो । सिटौलालाई सो समयमा सत्ता गठबन्धको समर्थन र साथ थियो । उक्त निर्वाचनमा सिटौलाले ३७ हजार ३७२ मत ल्याउनुभएको थियो ।
यस क्षेत्रको अघिल्लो प्रतिनिधि सभाको निर्वाचनको मतलाई आधार बनाउने हो भने यहाँ कांग्रेस बलियो देखिन्छ । कांग्रेसले २५ हजार ५३५ मत पाएको थियो । राप्रपाले १९ हजार ७४३ मत मात्र ल्याएको थियो । उक्त निर्वाचनमा एमालेले १९ हजार ४६० मत प्राप्त गरेको थियो ।
झापा क्षेत्र नं. ३ अन्तर्गत भद्रपुर नगरपालिका, कचनकवल, हल्दिबारी, बाह्रदशी गाउँपालिका तथा बिर्तामोड नगरपालिका–१० पर्छ । यहाँ कुल मतदाता सङ्ख्या एक लाख ४० हजार ८५७ रहेको छ । यहाँ नौ हजार चार सय नयाँ मतदाता थपिएका छन् ।