• १६ माघ २०८२, शुक्रबार

नागुका मतदाताले गरे मतदान नगर्ने निर्णय

blog

खलङ्गा समाचारदाता

खलङ्गा (दार्चुला), माघ १६ गते । दार्चुलाको नौगाड गाउँपालिकामा पर्ने अति दुर्गम गाउँ नागुका स्थानीयले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचन मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेका छन् । 

गाडी गुड्ने सडक पुग्नु त परको कुरा हो पैदल हिँड्नसमेत खासै बाटोसम्म नपुगेको बस्तीका स्थानीयले राजनीतिक दलप्रतिको वितृष्णा पोख्दै सो निर्णय गरेको स्थानीय नरेन्द्रबहादुर बमले जानकारी दिनुभयो । माघ १ गते बसेको स्थानीयको भेलाले यहाँको गौरीशङ्कर माध्यमिक विद्यालय नागु मतदान केन्द्रमा रहेका मतदाता निर्वाचन प्रक्रियामा सहभागी नहुने तथा कुनै पनि राजनीतिक दललाई प्रचारप्रसारमा रोक लगाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यहाँका १२१ जना स्थानीय भेला भएर गरिएको छलफलपछि सो निर्णय गरिएको अर्का स्थानीय ठगेन्द्रसिंह जुहारीले बताउनुभयो ।

स्थानीयले नागुक्षेत्र विकासनिर्माणका कारणले पिछडिएको क्षेत्र भएको भन्दै विकासका लागि पहल गर्न सङ्घर्ष समिति समेत निर्माण गरेका छन् । स्थानीय करनसिंह डडालको संयोजकत्वमा १५ सदस्यीय सङ्घर्ष समिति गठन गरिएको उहाँले बताउनुभयो । 

भेलाले हाल निर्माणाधीन अवस्थामा रहेको दल्लेख–नागु–सीना सडकखण्डको निर्माण विगत लामो समयदेखि रोकिनुको कारण र यथाशीघ्र काम गर्न सम्बन्धित निकायमा अवगत गराउने पनि निर्णय गरिएको उहाँले बताउनुभयो । “विकासनिर्माणले निकै पछाडि परेको यस क्षेत्रका मतदाता नेतासँग रिसाएका छन्, उहाँले भन्नुभयो ।” गौरीशङ्कर मावि मतदान केन्द्रमा जम्मा ६०२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकृत प्रदीपसिंह धामीले जानकारी दिनुभयो । साथै उहाँले सो क्षेत्रका स्थानीयले भेलामार्फत गरेका निर्णय जिल्ला निर्वाचन कार्यालयलगायत जिल्लास्थित सरोकार राख्ने कार्यालयमा स्थानीयले बुझाएको पुष्टि गर्नुभयो । 

“दलप्रतिको वितृष्णाले स्थानीयले यस्तो निर्णय गरेका हुन सक्छन्, मतदानमा सहभागी भए सही नेतृत्व छान्नुस् उहाँले भन्नुभयो ।” मतदान गर्न पाउनु प्रत्येक नेपालीको अधिकार हो उहाँले थप्नुभयो । दार्चुलामा विभन्न दलका ११ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । दार्चुलामा ९२ हजार ९४८ जना मतदाता रहेका छन् ।