• १६ माघ २०८२, शुक्रबार

डेढ लाख घुससहित इन्जिनियर पक्राउ

blog

यज्ञप्रसाद सापकोटा 
गुलरिया(बर्दिया) माघ १६ गते ।
बर्दियाको बारबर्दिया नगरपालिकामा कार्यरत इन्जिनियर मोहन देव मल्ललाई डेढ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकक्षबाट पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले मल्ललाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मल्लले वडा नं ७ मा रहेको जनता माध्यमिक विद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिए बापतको घुस मागेको सेवाग्राहीले बताएका छन् ।

घुस मागेको भन्ने सूचना र निवेदनको आधारमा अख्तियारको टोली खटिएको थियो । घुस लिइसकेको अवस्थामा मल्ललाई टोलीले पक्राउ गरेको आयोग सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख झरेन्द्रप्रसाद चापागाईंले बताउनुभयो ।

इन्जिनियर मल्ललाई रकमसहित नियन्त्रणमा लिई कारबाही प्रक्रिया सुरु गरिएको उहाँले बताउनु भयो । हाल रकम प्रमाणित गरि मुचुल्का उठाई अनुसन्धान प्रक्रिया सुरु गरिएको छ ।