काठमाडौँ, माघ १५ गते । राष्ट्रिय सूचना आयोगले फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा नेपाल सरकार, निर्वाचन आयोग, सर्वसाधारण, मिडिया लगायत सम्बन्धि पक्षमा निर्देशन जारी गरेको छ ।
बिहीबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्यले निर्वाचनका सन्दर्भमा मुख्य पाँचवटा पक्षलाई ध्यानाकर्षण गराउँदै निर्देशन दिइएको जानकारी दिनुभयो ।
डा. आचार्यले भन्नुभयो, “मूलतः फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा हामीले पाँचवटा पक्षलाई ध्यानाकर्षण गराउँदै केही निर्देशन दिएका छौं । नेपाल सरकारको आफ्नै दायित्व छ । निर्वाचन आयोगको छुट्टै दायित्व छ । राजनीतिक दलले निर्वाह गर्नुपर्ने दायित्व छ ।”
उहाँले मिडियाकर्मीमाथि सधैं पक्षधरताको आरोप लाग्ने गरेको भन्नुहुँदै निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “मिडियाको विषयमा उठ्ने गरेको प्रश्न चाहिँ के छ भने मिडियामा पक्षधरता छ भन्ने आरोप लाग्छ । मिडियामा कुनै पनि दलको प्रचार सामग्रीलाई समाचार बनाउन सक्ने वा विज्ञापन बनाउन सक्ने अधिकार छ । विज्ञापनको सन्दर्भमा निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ ।”
आयोगका सूचना आयुक्त एवम् प्रवक्ता गगन विष्टले आम निर्वाचनमा सूचना प्रवाहका सन्दर्भमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, मिडिया, आम नागरिकको दायित्वको विषयमा बुँदागत रुपमा निर्देशन सार्वजनिक गर्नुभएको हो ।
यससँगै ‘सूचनाको हकको सम्वद्र्धन, संरक्षण र प्रचलन’, ‘नष्ट भएका सूचनाको संरक्षण’, ‘तेस्रो राष्ट्रिय रणनीतिक योजना (२०२६–२०३०) को मस्यौदा’, ‘आयोगको इजलाशबाट भएका निर्णय तथा आदेशहरु’ का सन्दर्भमा पनि आयोगबाट भएका निर्देशन प्रस्तुत गर्नुभयो ।
जारी भएका निर्देशन
उहाँका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न गराउन मातहतका सबै निकायलाई नेपाल सरकारका इमानदारीसाथ जिम्मेवारी बहन गर्ने, सार्वजनिक निकायहरुले जारी गर्ने निर्वाचनसँग सम्बन्धित सूचना समयमै सर्वसाधारणले थाहा पाउने गरी प्रवाह गर्ने गराउने, गलत, नियोजित र भ्रमपूर्ण सूचनाहरु उपर निगरानी राख्न नियमनकारी निकायहरुलाई सक्रिय बनाउने लगायतका निर्देशन दिइएको छ ।
मतदाता शिक्षालाई थप प्रभावकारी र व्यापक बनाउन अधिकतम मतदाता समक्ष पुग्ने व्यवस्था मिलाउने, मतदान के का लागि, मतदानको महत्व, मतदान प्रक्रिया बारेमा व्यापक प्रचार प्रसार गर्ने गराउने, प्रचारप्रसार गर्दा बहुसङ्ख्यक जनसङ्ख्याले बोल्ने मातृभाषमा समेत गर्ने गराउने, निर्वाचनसँग सम्बन्धित ऐन, कानुन, निर्देशिका, कार्यविधि, आचारसंहिताका आधारभूत कुराहरु मतदाता र सम्बन्धित पक्षहरुलाई समयमै सुसूचित गर्ने गराउने लगायतका विषयमा निर्वाचन आयोगलाई निर्देशन दिइएको छ ।
कुनै पनि सूचना आधिकारिक निकायबाट जारी भएको हो कि होइन भनी यकिन गर्ने, आधिकारिक निकायबाट जारी नभएका प्रकाशन सामग्रीहरुको भर नपर्ने, विश्वास नगर्ने, भ्रामक, मिथ्या, गलत तथा नियोजित सूचना प्रवाह भइरहेको जानकारीमा आए नियामक निकायमा जानकारी गराउने लगायतका निर्देशन सर्वसाधारण नागरिकमा जारी भएको छ ।