दाङ समाचारदाता
दाङ, माघ १४ गते । दाङको पश्चिम क्षेत्र अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ यस पटक निकै चासो र चर्चाको केन्द्र बनेको छ । दुई जना पूर्वमन्त्री र एक पूर्वनगरप्रमुखसहित २५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदा यहाँको प्रतिस्पर्धा रोचक मात्र होइन, बहुपक्षीय र अनिश्चित बनेको छ । पुराना अनुभवी नेतासँगै नयाँ राजनीतिक अनुहारको उपस्थितिले मतदातालाई विकल्प दिनुका साथै मत विभाजनको सम्भावना पनि बढाएको छ ।
यो क्षेत्रबाट पटक पटक निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक गिरी पुनः निर्वाचनमा होमिनुभएको छ । गिरी यस क्षेत्रका स्थापित नेता मानिनुहुन्छ । सङ्गठनात्मक पकड तथा व्यक्तिगत प्रभाव पनि उहाँका बलिया पक्ष हुन् । २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रसहितको गठबन्धनको समर्थनमा गिरी विजयी हुनुभएको थियो । उहाँ ३६ हजार ८४२ मतसहित निर्वाचित हुनुभएको थियो । एमालेकी कोमल वली २९ हजार ३२ मतसहित दोस्रो बन्नुभएको थियो । गिरी यसअघि २०७० मा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । २०७४ को निर्वाचनमा भने एमाले–माओवादीको गठबन्धनबाट एमालेका हिराचन्द्र केसी निर्वाचित हुनुभएको थियो ।
यस पटक भने अवस्था फरक छ । गठबन्धन नहुँदा कांग्रेस एक्लै मैदानमा उत्रिएको छ । त्यही कारण गिरीका लागि यो निर्वाचन अघिल्लो पटकजत्तिकै सहज देखिँदैन । उहाँको प्रमुख प्रतिस्पर्धीका रूपमा नेकपा (एमाले) का नेता तथा तुलसीपुर उपमहानगरपालिकाका पूर्वप्रमुख घनश्याम पाण्डेय देखिनुभएको छ । स्थानीय तहमा लामो समय सक्रिय रहेका पाण्डेय स्थानीय विकास, सेवा प्रवाह र जनसम्पर्कमा बलिया मानिनुहुन्छ । २०७९ मा एमालेबाट उम्मेदवार रहनुभएकी कोमल वलीलाई यस पटक समानुपातिकमा राखेपछि एमालेले पाण्डेयलाई अगाडि सारेको हो । वन महासङ्घको केन्द्रीय अध्यक्षसमेत भइसकेका पाण्डेयले अहिले ग्रिन फाउन्डेसनलाई गाउँका कुना कुनासम्म विस्तार गर्नुभएको छ ।
यस्तै लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा नेकपाका नेता धनबहादुर मास्की पनि शक्तिशाली दाबेदारका रूपमा मैदानमा हुनुहुन्छ । मास्की प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिनु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । २०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका मास्कीले २२ हजार ३२१ मत ल्याएर विजय हासिल गर्नुभएको थियो । अहिले भने उहाँ आफ्नै पार्टीको एकल शक्तिमा प्रतिस्पर्धा गरिरहनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले अघिल्लो निर्वाचनमा तेस्रो स्थान हासिल गरेका कमल सुवेदीलाई पुनः उम्मेदवार बनाएको छ । रास्वपाप्रतिको आकर्षण कायमै रहेकाले सुवेदीले मत विभाजनमा निर्णायक भूमिका खेल्न सक्ने आकलन गरिएको छ । सुवेदीले २०७९ को निर्वाचनमा १५ हजार तीन सय मत प्राप्त गर्नुभएको थियो । यस निर्वाचन क्षेत्रमा कुल मतदाता सङ्ख्या एक लाख ५० हजार ७२० पुगेको छ, जुन अघिल्लो निर्वाचनको तुलनामा उल्लेख्य वृद्धि हो ।