• १४ माघ २०८२, बुधबार

निर्वाचनमा शान्तिसुरक्षा

blog

प्रतिनिधि सभा सदस्यको निर्वाचन आउन ३६ दिन बाँकी छ । निर्वाचन मिति नजिकिँदै जाँदा सबैको ध्यान निर्वाचनमा केन्द्रित भएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र, धाँधलीरहित र निर्भय बनाउन राज्यको सम्पूर्ण संयन्त्र परिचालनको गृहकार्य भइरहेको छ । नवयुवा पुस्ता (जेनजी) आन्दोलनका कारण हुन गइरहेको यो आकस्मिक निर्वाचनको विशेष अर्थ र महत्व रहेको छ । मुलुकमा सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि भएको आन्दोलनको मूल मर्म र भावनालाई आत्मसात् गर्दै निर्वाचनबाट प्राप्त हुने जनादेशले अग्रगामी निकास दिने अपेक्षा गरिएको छ । मुलुक एकल प्रयासले बन्दैन, सबै मिल्नुको विकल्प छैन । सबैको सहकार्य र सहअस्तित्वले मात्र सभ्य, सुसंस्कृत, समृद्ध र समावेशी राष्ट्रनिर्माण गर्न सकिन्छ । राष्ट्रिय चरित्र निर्माण गर्न नसक्दा, भ्रष्टाचार नियन्त्रण गरी सुशासनको अनुभूति आमनागरिकले गर्न नपाएकै कारण जेनजी आन्दोलनका रूपमा असन्तृष्टि र विद्रोह भएको हो । यो विद्रोहले खोजेको परिवर्तनलाई संस्थागत गर्ने मुख्य आधार भनेकै ताजा जनादेश हो । त्यसैका लागि पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ । यो सरकारको प्रमुख कार्यभार आउँदो फागुन २१ मा आमनिर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु हो । निर्वाचन केवल प्राविधिक प्रक्रिया मात्र होइन, यो लोकतान्त्रिक संस्थाको जीवन्तता, राजनीतिक दलको उत्साहपूर्ण सहभागिता र मतदाताको विश्वास आर्जन गर्ने अवसर पनि हो ।

जेनजी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी, तोडफोड र अराजक गतिविधिले सुरक्षा निकाय, कर्मचारी, उद्योगी व्यवसायीको खस्केको मनोबल उठाउन सरकारले छोटो समयमै गरेको अथक प्रयत्नले मुलुकमा सहजै निर्वाचन हुने वातावरण बनेको हो । निर्धारित समयमै चुनाव हुन्न कि भन्ने आशङ्का मेटिएको छ । राष्ट्रिय सभाको एक तिहाइ सदस्यका लागि निर्वाचन सम्पन्न भई परिणामसमेत सार्वजनिक भइसकेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबै पक्ष तयारीमा जुटेका छन् । शान्तिपूर्ण र मर्यादित ढङ्गले उम्मेदवारी दर्ता गराउने र अन्तिम नामावली प्रकाशित गर्ने काम सम्पन्न भइसकेको छ । समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको छ । प्रत्यक्ष निर्वाचनतर्फको मतपत्र छपाइ सुरु भएको छ । उम्मेदवारको मनोनयनसँगै निर्वाचनको सरगर्मी बढेको छ । त्यसका लागि थप सुरक्षा सतर्कता अपनाइएको छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबिच हुने चुनावी कार्यक्रम, उम्मेदवारको आवतजावत र बसाइमा कुनै पनि सुरक्षा चुनौती नहोस् भनी सुरक्षा निकायको परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन सुरक्षा तयारीसँगै उम्मेदवारको सुरक्षालाई विशेष प्राथमिकतामा राखेर सुरक्षा निकाय परिचालन गरिएको छ । निर्वाचन सुरक्षालाई त्रुटिरहित बनाउन गृह मन्त्रालयले एकीकृत सुरक्षा योजना तयार पारी कार्यान्वयन नै गरिसकेको छ । कुनै पनि उम्मेदवारले सुरक्षाको कुनै चिन्ता नगरी निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा रहेर निर्वाचन गतिविधि सञ्चालन गर्ने वातावरण बनेको छ । जुनसुकै पार्टीका उम्मेदवार वा स्वतन्त्र उम्मेदवारले पनि आफ्नो सुरक्षामा शङ्का गर्नुपर्ने अवस्था छैन । कुनै शङ्कास्पद गतिविधि देखिए तत्काल सम्बोधन गर्ने गरी सुरक्षा तैनाथी भइसकेको छ ।

निर्वाचनको समग्र सुरक्षासँगै उम्मेदवारको सुरक्षाका लागि नेपाल प्रहरीले केन्द्रदेखि जिल्ला तहसम्म निर्वाचन सेल गठन गरी उपत्यकामा एक, प्रदेश तहमा एक र प्रदेश प्रहरी कार्यालय तथा जिल्ला तहमा गरी ९३ वटा निर्वाचन सेल गठन भइसकेका छन् । उम्मेदवार विशेष सुरक्षाका लागि जिल्ला सुरक्षा समितिमार्फत विशेष टोली नै परिचालन गरिएको छ । उम्मेदवारको सुरक्षामा कुनै पनि समस्या सिर्जना नहोस् भन्ने उद्देश्यले सम्भावित क्षेत्र र स्थानमा सादा पोसाकका प्रहरी परिचालनसमेत भइसकेको छ । सबै उम्मेदवारको सुरक्षाका लागि आवश्यक प्रहरी खटाइएको छ । कतिपय चर्चित र प्रभावशाली उम्मेदवारका लागि वरिष्ठ प्रहरीको कमान्डमा आवश्यक जनशक्तिको व्यवस्था गरिएको छ । कुनै उम्मेदवारले सुरक्षा चुनौतीको अनुभूति गरे वा शङ्कास्पद गतिविधि गरेको पाइएमा नजिकैको प्रहरीलाई खबर गरे तत्काल कारबाही अघि बढाइने व्यवस्था मिलाइएको छ । निर्वाचनलाई प्रभावित गर्न र एकअर्काबिच सामाजिक सञ्जालबाट व्यक्त हुने घृणास्पद अभिव्यक्ति नियन्त्रणका लागि प्रत्येक निर्वाचन सेलमा आइटीविज्ञ प्रहरीसमेत परिचालन गरिएको छ । मन्त्रालयले कार्यान्वयनमा ल्याएको एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार निर्वाचन अघि, निर्वाचन अवधि र निर्वाचनपछि सुरक्षा रणनीति र तयारी भइसकेको जनाएको छ । जस अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग संयुक्त तथा छुट्टाछुट्टै रूपमा परिचालन गरिएको छ । अतः यो आमनिर्वाचनलाई भय र हिंसारहित स्वतन्त्र, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न सबैले हातेमालो गर्नु पर्छ ।