• १४ माघ २०८२, बुधबार

जलजलाका दस उद्यमी उत्कृष्ट घोषित

blog

उत्कृष्ट उद्यमी घोषणा पछिको सामूहिक तस्बिर । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, माघ १४ गते ।
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले उत्कृष्ट दस उद्यमी छनोट गरी एक लाख रुपियाँ प्रोत्साहनसहित सम्मान गरिएको छ । स्थानीय स्रोत र साधनमा आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्दै गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले उत्कृष्ट उद्यमी छनोट गरेको हो ।

गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्धन कार्यक्रमअन्तर्गत विभिन्न सूचकका आधारमा उद्यमी छनोट गरिएको गाउँपालिकाले जनाएको छ ।

उत्कृष्ट २० उद्यमीमा समेटिएका मध्ये उहाँहरुको उद्यमको स्थलगत अनुगमनतर्फ ७५ प्रतिशत र एसएमएस भोटिङतर्फ २५ प्रतिशतको मूल्याङ्कनसहित उत्कृष्ट १० उद्यम घोषणा गरी सम्मान गरिएको कार्यक्रमका प्रदेश संयोजक जुनतारा बुढामगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार, उत्कृष्ट १० उद्यमीलाई ४० प्रतिशत थप रकम साझेदारी गरी प्रविधि खरिदका लागि जनही एक लाख नगद रुपियाँ सहयोग समेत गरिएको छ ।

उत्कृष्ट उद्यमीको रुपमा टपरी एग्रो प्रा.लिकी जमुना आचार्य, जलजला कृषि तथा पशुपंक्षी फर्मकी शुभकुमारी कार्की, अभिषेक तरकारी तथा पशुपंक्षी फर्मकी सावित्री खत्री, थापा लोकल मार्टकी कमला बानियाँ थापा, मल्ल ढाका उद्योगकी उषा मल्ल, गोमा गाइभैँसी फर्मका तोपबहादुर क्षेत्री, पाईजा अर्गानिक फलफूल तथा पशुपंक्षी फर्मकी बसन्ती पाईजा, पाईजा नर्सरी फर्मका नरबहादुर पाईजा, राधादेवी पशुपंक्षी तथा कृषि फर्मकी राधिका भुसाल र हरि सुन्तला बगैँचा तथा पशुपंक्षी फर्मकी ताराकुमारी रेग्मी छनोट हुनुभएको हो ।

गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमलगायतले उत्कृष्ट घोषित उद्यमीहरुलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा  पर्यटन मन्त्री बस्यालले जलजला तरकारी, फलफूल, पशुपालन र लघुउद्यममा सम्भावनायुक्त रहेको बताउनुभयो । उहाँले उद्यमीहरुको प्रोत्साहन, बजारमा सन्जालिकरण, उद्यममा नवप्रर्धन र व्यावसायिकता बढाउन वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रमले गरेको सुरुवात प्रशंसनीय रहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाभित्रका उद्यमीहरुलाई नविनतम सोचका साथ उद्यमशिलतातर्फ अघि बढ्न कार्यक्रमले सहयोग पुगेको बताउनुभयो । उत्कृष्ट उद्यमीमा समेटिएकाहरुको उद्यमशिलताले अन्य व्यक्तिहरुलाई समेत हौँसला थपिएको बताउँदै उहाँले यस कार्यक्रमले समेटन नसकेका उद्यमीहरुलाई पालिकाले अन्य स्रोत र कार्यक्रमहरुबाट प्रोत्साहन गर्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले आवेदन दिएका उद्यमीहरुमध्ये कार्यक्रमको कार्यविधि अनुसार विभिन्न सुचकको र छनौट विधिको आधारमा उत्कृष्ट उद्यमीहरुको छनोट भएको बताउँदै उद्यमीहरुको उद्यमशीलता प्रवर्धनमा यस कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट उद्यमीको रुपमा सम्मानीत हुनुभएकी जमुना आचार्य र कमला बानियाँ थापाले नविनतम सोच र प्रविधिका उपयोग गर्दा आफ्नो फर्मबाट उत्पादित बस्तुको उल्लेखनीय माग बढेकोले उद्यमलाई विस्तार गर्दै रोजगार शिर्जना गर्न तर्फ लाग्ने बताउनुभयो ।