• १४ माघ २०८२, बुधबार

नवौं वालिङ महोत्सव आजबाट

blog

वालिङ खेलमैदानमा निर्माण गरिएको कुँडुले (गोलो) घर । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा) माघ १४ गते ।
स्याङ्जाको वालिङमा बुधबारबाट नवौं चरणको महोत्सव सुरु हुने भएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नारासहित गण्डकी प्रदेशस्तरीय महोत्सव गर्न लागिएको आयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक, व्यापारिक गरि विभिन्न विधाका स्टलहरू रहने संघका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार वालिङ खेलमैदानमा झण्डै चार सय स्टल बनाइएको छ ।

महोत्सवमा कृषि, कृषि औजार तथा हस्तकलाका लागि ४० भन्दा बढी स्टलहरू निःशुल्क उपलब्ध गराइएको छ भने स्थानीय व्यापारीहरुका लागि ३० प्रतिशत छुट दिइएको छ ।

महोत्सवबाट एक करोड ६८ लाख आम्दानी तथा एक करोड १४ लाख ५१ हजार खर्च हुने संघका सचिव तथा प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा ५३ लाख ४९ हजार बचत हुने अनुमान रहेको छ । नवौं वालिङ महोत्सवमा १० करोडको अल्पकालिन कारोबार र तीन लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको खनालको भनाइ छ ।

महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने कार्यक्रम रहेको आयोजकको भनाइ छ । स्याङ्जाको वालिङस्थित खेलमैदानमा हुने महोत्सवलाई गण्डकी प्रदेशमा नै उत्कृष्ट मानिन्छ । महोत्सव माघ २५ गतेसम्म गरी १२ दिन सञ्चालन हुने संघले जनाएको छ ।