राजकुमार भट्टराई
खोटाङ, माघ १३ गते। खोटाङमा एक हजार २८२ जना निर्वाचन प्रहरी छानिएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि माग गरिए असुसार निर्वाचन प्रहरी छानिएको निर्वाचन भर्ना छनोट उपसमितिले जनाएको छ।
आवेदन दिएका व्यक्तिको प्रारम्भिक परीक्षण, शारीरिक परीक्षण, लिखित र अन्तरवार्ता परीक्षा पश्चात माघ १२ गतेको निर्णय अनुसार नतिजा प्रकाशन गरिएको निर्वाचन भर्ना छनोट उपसमिति सदस्य, निर्वाचन सेल प्रमुख एवं जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक राजु विष्टले बताउनुभयो। आवश्यक माग संख्या अनुसार एक हजार २८२ जना निर्वाचन प्रहरी छनोट हुँदा २०५ जना बैकल्पिकमा रहेको उहाँको भनाइ छ।
निर्वाचन प्रहरीका लागि माग गरिए भन्दा कम आवेदन परेपछि माघ ९ गते पुनः आवेदन खुलाइएको थियो। माघ १० र ११ गते आदेवन दिनेको संख्या बढेपछि सबै परीक्षा पश्चात अन्तिममा २०५ जना वैकल्पिकमा राखिएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो।
सुरुमा दरखास्त दिनका लागि पुस २५ देखि माघ १ गतेसम्मका लागि समय तोकिएको थियो। माग अनुसार आवेदन नआएपछि माघ ३ सम्म लम्ब्याइएको थियो। माघ ३ गतेसम्ममा पनि एक हजार २८२ जना निर्वाचन प्रहरी भर्नाका लागि आह्वान गर्दा फाराम भर्नेको संख्या जम्मा एक हजार १७३ जनाको मात्रै भयो।
फारम भर्नेमध्ये पनि केही व्यक्तिहरु परीक्षामा उपस्थित भएका थिएनन्। केही ब्यक्तिहरु लिखित परीक्षामा अनुत्तिर्ण भएका थिए। माघ ९ गते प्रकाशित गरिएको लिखित परीक्षामा एक हजार ३९ जना मात्र उत्तिर्ण भएका थिए। माग अनुसार निर्वाचन प्रहरी अपुग हुने भएपछि पुनः माघ ९ गते आदेवन खुलाइएको थियो।