राजन रावत
हुम्ला, माघ १३ गते । नाम्खा गाउँपालिका–३ खगालगाउँको झुला गाउँमा ५० किलोवाटको सोलार मिनीग्रीड सञ्चालनमा आएको छ । उक्त मिनीग्रीड परियोजनाको निर्माण कार्य सम्पन्न हुँदा विद्युत आपूर्ति समेत सुरु भएको हो ।
निर्माण सुरु भएको ११ महिनापछि झुला गाउँमा सोलार मिनीग्रीड परियोजनाबाट विद्युत आपूर्ति सुरु भएर सञ्चालनमा आएको नाम्खा गाउँपालिका–३ का वडा अध्यक्ष ग्याम्जो लामाले बताउनुभयो ।
यो परियोजना सञ्चालनमा आएपछि झुला गाउँवासीले पहिलो पटक विद्युत उपभोग गर्न पाएका छन्। सो गाउँमा १२१ घरधुरी रहेका छन् । उक्त वडाका तीन वटा वस्ती खगालगाउँँ, गुम्बा र लामा खोल्सीका स्थानीय झुला गाउँमा बस्दै आएका छन् । ५० किलोवाट विद्युत उत्पादन सुरु भएर हाल वितरण कार्य भइरहेको छ ।
सोलार मिनीग्रीडको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले एक कार्यक्रमकाबिच औपचारिक रुपमा उद्घाटन गरेपछि सञ्चालनमा आएको हो । यसअघि सोही गाउँपालिका–५ को यारीमा ५० र हिल्सामा एक सय किलोवाटको सोलार मिनीग्रीड निर्माण भएर हाल सञ्चालनमा रहेको छ ।