• १३ माघ २०८२, मङ्गलबार

बाँकेका ६१ मतदानस्थल अति संवेदनशील

blog

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रशासनिक भवन ।

सिराज खान  

नेपालगन्ज, माघ १३ गते । भारतसँग ६५ किलोमिटरको खुला सिमाना गाँसिएको बाँके जिल्लामा प्रतिनिधिसभाको निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिंदैछ ।  

जिल्लाका आठवटा पालिकाका १३९ वटा मतदानस्थलमध्ये ६१ वटा अति संवेदनशील, ५० वटा संवेदनशील तथा २८ वटालाई सामान्य मतदानस्थल तोकिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले बताउनुभयो । 

१३९ मतदानस्थलमा ४०० मतदान केन्द्र कायम गरिएको र केही अस्थायी मतदान केन्द्र समेत कायम गरिने तयारी भइरहेको निर्वाचन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगु जिसीले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नका लागि कुनै कसर बाँकी नराख्ने जनाउँदै निर्वाचन लक्षित कडा सुरक्षा व्यवस्था गरिने बताउनुभयो । 

उहाँले सुरक्षामा निर्वाचन प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित हुने बताउनुभयो । मतदानको केहीदिन अघिबाटै सीमा नाकामा नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती पनि हुने र सो गस्ती निर्वाचनको अवधीसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

बाँकेमा यस पटक तीन लाख ५० हजार ३७१ जना मतदाता सङ्ख्या पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले अस्थायी मतदाताको नामावली सङ्कलन गर्ने कार्य अझै चलिरहेकाले सो सङ्ख्या पनि यसमा थपिने बताउनुभयो ।