सियोल, माघ १३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल, काठ र फार्मास्युटिकल्स लगायत दक्षिण कोरियाबाट आयात हुने सामानमा कर बढाउने घोषणा गर्नुभएपछि दक्षिण कोरियाको सरकारले मङ्गलबार आपतकालीन बैठक बोलाएर स्थिति मूल्याङ्कन गरेको छ ।
राष्ट्रपति ट्रम्पले सोमबार दक्षिण कोरियाले वासिङ्टनसँग यसअघि भएको व्यापार सम्झौताको पूर्ण पालना नगरेको आरोप लगाउँदै ती सामानमा कर बढाउने बताउनुभएको हो । उहाँको घोषणा अनुसार हाल १५ प्रतिशत रहेको कर दर बढेर २५ प्रतिशत पुग्नेछ ।
तर, दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले अमेरिकी पक्षबाट यस्तो कर वृद्धि योजनाबारे आफूलाई पहिल्यै कुनै आधिकारिक सूचना नआएको स्पष्ट पारेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेख्दै ‘दक्षिण कोरियाको विधायिकाले अमेरिकासँग गरिएको सम्झौता अनुसार काम गरिरहेको छैन’ भन्ने दाबी गर्नुभएको छ ।
उहाँका अनुसार कोरियाली संसद्ले ‘हाम्रो ऐतिहासिक व्यापार सम्झौता लागु नगरेकाले’ उहाँले कर दर बढाउने निर्णय लिनु भएको हो । यस घोषणापछि सियोलमा मङ्गलबार आपतकालीन बैठक बसेको थियो । उक्त बैठकमा हाल क्यानाडामा रहनुभएका व्यापार तथा उद्योग मन्त्री किम जङ्ग–क्वान टाढाबाट सहभागी हुनुभएको थियो । बैठकपछि जारी गरिएको विज्ञप्तिमा दक्षिण कोरियाली सरकारले अमेरिकी पक्षसँग भएको प्रशुल्क सम्झौता कार्यान्वयनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै शान्त र मापन गरिएको तरिकाले प्रतिक्रिया जनाउने बताएको छ ।
सरकारले वासिङ्टनले घोषणा गरेको कर वृद्धि तत्काल लागु नहुने र सङ्घीय रजिस्टरमा प्रकाशन जस्ता आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्र प्रभावमा आउने विश्वास व्यक्त गरेको छ । यसैबिच, दक्षिण कोरियाका व्यापार मन्त्री किम यस विषयमा छलफल गर्न अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकसँग भेटवार्ता गर्न वासिङ्टन जाने तयारीमा हुनुहुन्छ ।
यो घटना क्रम वासिङ्टन र सियोलबिच केही महिना अघि मात्र व्यापार तथा सुरक्षा सम्झौता भएको पृष्ठभूमिमा आएको हो । ती सम्झौताले लामो समयदेखि चलेको तनावपूर्ण वार्तालाई सीमित गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ दिशामा लैजाने अपेक्षा गरिएको थियो । गत अक्टोबरमा दक्षिण कोरियाली समकक्षी ली जे म्युङसँग राष्ट्रपति ट्रम्पको भेटपछि अमेरिकी शुल्क कटौती र दक्षिण कोरियाबाट थप लगानीको प्रतिबद्धतासहित सम्झौतालाई अन्तिम रूप दिइएको थियो ।
तर त्यस यता उक्त सम्झौता दक्षिण कोरियामा कानुनी रूपमा अझै लम्बित अवस्थामा छ । सियोलको राष्ट्रपति कार्यालयले नोभेम्बरमा यस सम्झौताले बाध्यकारी कानुनी दस्तावेजभन्दा बढी समझदारी ज्ञापन पत्रको स्वरूप लिएको तर्क गर्दै संसदीय स्वीकृतिको आवश्यकता नपर्ने जनाएको थियो । सम्झौता संसदमा पेस गरिएको छ वा छैन भन्ने प्रश्नमा एक वरिष्ठ अधिकारीले मङ्गलबार एएफपीलाई आफूले त्यसबारे समीक्षा गरिरहेको बताउँदै विस्तृत जानकारी दिन अस्वीकार गर्नुभएको छ ।
सम्झौता अनुसार वासिङ्टनले सवारी साधन, कार पाट्र्स र फार्मास्युटिकल्ससहित दक्षिण कोरियाली सामानमा अधिकतम १५ प्रतिशतसम्म कर लगाउने व्यवस्था गरेको थियो । विशेष गरी, यस सम्झौताले दक्षिण कोरियाली कारमा लाग्ने अमेरिकी शुल्क २५ प्रतिशतबाट घटाएको थियो । तर राष्ट्रपति ट्रम्पको पछिल्लो चेतावनी यदि कार्यान्वयनमा आयो भने त्यो व्यवस्था उल्टिने छ ।
संयुक्त राज्य अमेरिकामा दक्षिण कोरियाको कुल निर्यातमध्ये करिब २७ प्रतिशत अटो उद्योगले ओगटेको छ, जुन देशको कुल कार निर्यातको लगभग आधा हिस्सा हो । उच्च कर दरमा पुनः फर्किनुपरेमा दक्षिण कोरियाली निर्यात जापान र युरोपेली सङ्घ (इयु) जस्ता अर्थतन्त्रको तुलनामा कमजोर स्थितिमा पर्न सक्ने विश्लेषकको भनाइ छ, किनकि ती दुवैले अमेरिकासँग १५ प्रतिशत करमै सहमति गरिसकेका छन् ।
हालसम्म ट्रम्प प्रशासनले कर परिवर्तन लागु गर्न आवश्यक औपचारिक सूचना सार्वजनिक गर्न बाँकी नै राखेको छ । दक्षिण कोरियालाई लक्षित गर्दै आएको यो चेतावनी हालैका दिनमा अमेरिकी राष्ट्रपतिको प्रमुख व्यापारिक साझेदारमाथिको पछिल्लो कडा अभिव्यक्तिमध्ये एक हो ।
यसअघि सप्ताहन्तमा राष्ट्रपति ट्रम्पले क्यानाडालाई चेतावनी दिँदै चीनसँग व्यापार सम्झौता गरेमा सीमापार आउने सबै सामानमा १०० प्रतिशत भन्सार शुल्क लगाइने बताउनुभएको थियो । त्यसै गरी, जनवरीको सुरुमा उहाँले ग्रिनल्यान्ड खरिद नभएसम्म धेरै युरोपेली राष्ट्रमा कर लगाउने धम्की दिनुभएको थियो, र त्यसपछि पनि उहाँले ती धम्कीलाई सार्वजनिक रूपमा समर्थन गर्दै आउनुभएको छ । रासस/एएफपी