• १३ माघ २०८२, मङ्गलबार

लमजुङमा थपिए ६ मतदान केन्द्र

blog

२०७९ निर्वाचनमा लमजुङको मर्स्याङ्दी–९ कमला प्राविमा रहेको मतदान केन्द्र । फाइल तस्बिर

नवीनराज कुइँकेल

लमजुङ, माघ १३ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा पुनः ६ वटा मतदान केन्द्र थपिएको छ । निर्वाचन आयोगले जिल्लाको मतदानस्थलमा भएका मतदाता सङ्ख्याका आधारमा साविककै मतदानस्थलमा ६ वटा मतदान केन्द्र थपेको हो ।

यसअघि जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले साविकको मतदाता सङ्ख्याको आधारमा एकसय ३० मतदान स्थलमा एकसय ८६ मतदान केन्द्र सिफारिस गरेको थियो । पछि निर्वाचन आयोगबाट केही मतदान स्थलमा भएका मतदाताको सङ्ख्याको आधारमा ६ वटा मतदान केन्द्र थप गरी पठाएको जिल्ला निर्वाचन अधिकारी यादवराज आचार्यले बताउनुभयो ।

उहाँका अनुसार आगामी निर्वाचनका निम्ति जिल्लामा एकसय ३० मतदानस्थल कायम भएको छ । जिल्लामा हाल १३० मतदानस्थलमा १९२ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । यसअघिको निर्वाचनमा जिल्लामा १२८ मतदानस्थलमा १८२ मतदान केन्द्र रहेको थियो । 

यसअघि सरोकारवालाको बैठकपश्चात् जिल्लाको भौगोलिक अवस्था र मतदाताहरुको सहजताको कारण देखाउँदै प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा दुईवटा मतदानस्थल थप्न सिफारिस भएको थियो । जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले सरोकारवालासँग छलफल गरी निर्वाचन आयोगमा सिफारिस गरेको हो । 

जिल्लाका विभिन्न स्थानीय तहमा यसअघि कायम भएका मतदान स्थललाई मतदाता सङ्ख्या तथा भुगोलका आधारमा वर्गीकरण गरी नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको हो । जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार बेसीशहर नगरपालिका –१० र दोर्दी गाउँपालिका –२ मा नयाँ मतदानस्थल कायम भएको हो । मतदाता सङ्ख्या बढी भएका केही मतदान स्थलहरुमा केन्द्र मात्र थप भएको छ ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा १ लाख ३७ हजार १२४ जना मतदाता रहेका छन् । जसमा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० जना छन् ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको सङ्ख्या तीन हजार ४०७ जनाले बढेको छ । 

गत २०७९ को निर्वाचनमा एक लाख ३३ हजार ७१७ जना मतदाता थिए । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानस्थलको अनुगमन तथा निरीक्षण भइरहेका छन् । निर्वाचनका लागि सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढेको छ ।