• १३ माघ २०८२, मङ्गलबार

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

blog

ढोरपाटन (बागलुङ), माघ १३  गते ।  बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् । 

बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि निरन्तर बाजा बजाउँदै आएका छन् । उनीहरुले विद्यालयमा हुने कार्यक्रम र विभिन्न मेला पर्वमा बजाउने गर्छन् । विद्यालयले रु एक लाख ५० हजारमा बाजा खरिद गरेर विद्यार्थीलाई सिकाउँदै आएको प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विद्यालयका शिक्षक थमबहादुर परियारले बाजा बजाउन सिकाउनु हुन्छ । कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले बाजा बजाउने गरेको प्रअ पौडेलले बताउनुभयो । उहाँले भन्नुभययो, “विद्यार्थीलाई गाउँघरमा हुने परम्परागत पेसाप्रति आकर्षित गराउनुपर्छ र मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने उद्देश्यले हामीले पन्चैबाजा संरक्षणमा जोड दिएका हौँ, पढाइसँगै अतिरिक्त क्रियाकलाप पनि भएको छ ।”

त्यसैगरी बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यमिक विद्यालयका विद्यार्थी पनि पन्चैबाजा संरक्षणमा जुटेका छन् । कक्षा ३ देखि १० सम्मका विद्यार्थीले पढाइसँगै बाजा बजाउन सिकिरहेका छन् । विद्यालयमा करिब १५ जना विद्यार्थीले अहिले बाजा बजाउने गर्छन् । शिक्षक रामबहादुर नेपालीले बाजा बजाउन सिकाउँदै आउनु भएको छ । 

विद्यार्थीले चासो दिएपछि बाजा बजाउन सिकाउन थालेको शिक्षक नेपालीले बताउनुभयो । एक दशक अगाडिसम्म गाउँमा पन्चै बाजा बजाउने धेरै समूह भए पनि पछिल्लो समय एउटा समूह बनाउन सक्रिय छैन । विवाह, ब्रतबन्ध र सार्वजनिक मेला महोत्सवमा पन्चैबाजाको माग भने धेरै छ ।

त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्र सक्षम परियारले पुर्ख्याैली पेसा र संस्कृतिलाई संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । घरमा बाउबाजेले बजाउँदा अलिअलि जानेको उहाँले विद्यालयमा शिक्षकले सिकाउन थालेपछि पूर्णरूपमा जान्ने भएको बताउनुभयो । 

बागलुङ नगरपालिकासहित गलकोट, बडिगाड, बरेङलगायतका स्थानीय तहमा रहेका विद्यालयहरुले पनि विद्यालयमा बालबालिकालाई बाजा बजाउन सिकाउन थालेका छन् । रासस