चाँदनी आचार्य
घोडाघोडी(कैलाली), माघ १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह चुनावी अभियानमा कैलाली पुग्नुभएको छ । बर्दियाको राजापुरबाट कैलाली पुगेका उहाँले उम्मेदवार भेटघाटका क्रममा क्षेत्रको समस्याका बारेमा चासो देखाउनुभएको छ । मङ्गलबार बिहान लम्की र सुखडमा रहेको पार्टी कार्यालय पुगेर त्यहाँका उम्मदवार तथा नेतासँग क्षेत्रगत समस्याका बारेमा जानकारी लिनुुभएको हो ।
नेता शाहले लम्कीचुहा नगरपालिका भल्कामा रहेको पार्टी कार्यालयमा २ का उम्मेदवार केपी खनाल लगायत रास्वपा नेताहरुसँग केहीबेर त्यहाँको समस्याका बारेमा जानकारी लिनुभएपछि सुखड पुग्नुभएको थियोे ।
सुखड चोकममा स्वागत र अभिनन्दका लागि रास्वपाका नेता कार्यकर्ता तथा शुभचिन्तकको समूह रहे पनि शाह सिधै सुखड बजारमा रहेको पार्टी कार्यालय प्रवेश गर्नुभएको थियो । पछिपछि शाहलाई हेर्न र भेट्नका लागि युवाहरुको भिड पार्टी कार्यालय पुगेको थियो ।
सुरक्षाकर्मीको सुरक्षाभित्र केहीबेर शाहले कार्यालयमा क्षेत्र नम्बर ३ का उम्मेदवार जगतप्रसाद जोशीसँग कुराकानी गर्नुभयो । भेटघाट र कुराकानीका क्रममा क्षेत्र नम्बर ३ को समस्याका बारेमा उम्मेदवार जोशीले जानकारी गराउनुभएको थियो । उहाँले पर्यटन, कृर्षीका लागि सम्भावना बोकेको क्षेत्र भए पनि बाढी, डुबान, कटानको समस्यालगायत विषयमा जानकारी गराएको बताउनुभयो ।
छोटो समय कुराकानीपछि कार्यालयबाट निस्कनु भएका शाह भिडमा नरोकिकन गाडीमा बस्नुभएको थियो । समर्थकले नाराबाजी गर्दै बजार परिक्रमापछि सबैलाई हात हल्याउदै शाह निस्कनुभएको थियो । बिहान ७ बजे राजापुरमा भएको स्वागत कार्यक्रममा उपस्थित भएर कैलाली पुग्नुभएका उहाँको पहलमानपुर, मसुरिया, चौमाला, अत्तरिया, धनगढीसम्म भेटघाट कार्यक्रम रहेको जनाइएको छ ।