भवानीदत्त भट्ट
कञ्चनपुर, माघ १३ गते । कञ्चनपुर निर्वाचन क्षेत्र १ मा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका तारालामा तामाङले यहाँका रोकिएका योजना अगाडि बढाइने बताउनुभएको छ । सोमबार प्रेस चौतारी नेपाल शाखा कञ्चनपुरले बेलौरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेता तामाङले यस अघि अगाडि बढाइएका योजनाहरू वर्तमान सरकारले रोकेकाले निर्वाचित भएपछि ती योजनाहरू अघि बढाइने प्रतिबद्धता जनाउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेता तामाङले कञ्चनपुर क्षेत्र नम्बर १ का एक सय नौ करोडका योजनाहरू वर्तमान सरकारले रोकेको बताउनुभयो । चानदेवबाट रतनपुर हुँदै चिनिमिल जाने सडक, पुनर्वासको पुरेनादेखि अम्रेया हुँदै गोविन्द गौतमको पार्कसम्मको सडक, बेलौरी बेलडाँडीको सिमसार क्षेत्र, लगायतका थुप्रै योजनाहरू ठेक्का सम्झौता भएर मन्त्रालयले सदर नगर्दा काम रोकिएको बताउनुभयो ।
सरकार अनुकूलता हुँदा केही योजनाहरूमा बजेट विनियोजन गरिए पनि वर्तमान सरकारले ती योजनाहरू रोक लगाउँदा यस क्षेत्रको विकास हुन नसकेको उहाँले बताउनुभयो । ती योजनाहरूलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो । जसका लागि फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफू उम्मेदवार बनेको उहाँले बताउनुभयो ।
हाल नकारात्मक कुराहरू फैलाएर विकास गर्दै आएका पार्टीहरूको विरुद्धमा जाने तत्वहरूलाई पनि परास्त गर्न जरुरी रहेको उहाँले बताउनुभयो । केही समययता नकारात्मक कुराहरू बढी फैलाउने जस्ता कार्यहरू हुँदै आएकाले आगामी निर्वाचनमा जनताले विकास प्रेमी उम्मेदवारलाई मत खसाल्न जरुरी रहेको बताउनुभयो ।
यो क्षेत्रको समृद्धि, विकास तथा यो २०७९ को निर्वाचनमा विजयी भएपछि यो क्षेत्रका विकास योजनाको सन्दर्भमा उठाएका आवाजलाई निरन्तरता दिनका लागि फागुन २१ को निर्वाचनमा आफू उम्मेदवार बनेको उहाँले बताउनुभयो ।
यस क्षेत्रको मुख्य समस्या खुला सीमा नाका कारण यहाँका बालबालिका, युवाहरू लागू औषधको दलदलमा फस्दै गएको उहाँले बताउनुभयाये । जसको निदानका लागि यस अघि पटक पटक सदनमा आवाज उठाएको उहाँले बताउनुभयो । खुला नाका कारण अखाद्य वस्तुहरू नाका भएर भित्र्याइने गरेकाले यसको पूर्णरुपमा रोक लगाउनका लागि सरकारले ठोस कदम चाल्न जरुरी रहेको उहाँले बताउनुभयो ।
आगामी निर्वाचनमा यहाँका जनताले निर्वाचित गरे विगतका अनुभवका आधारमा पनि सिघै एक्सनमा जाने उहाँले बताउनुभयो । यस क्षेत्रको आरक्षपीडितका समस्या समाधान, विकास आयोजना अगाडि बढाउन आफू उम्मेदवार बनेको उहाँले बताउनुभयो । सरकार आफू अनुकूल नहुँदा पनि यस क्षेत्रका थुप्रै योजना अगाडि बढाइएकाे उहाँले बताउनुभयो ।
“यस अघि २०७९ मा निर्वाचित भएपछि सङ्घमा केही अभ्यास मात्रै गर्न पाइएको थियो”, उहाँले भन्नुभयो, “अब यस क्षेत्रको विकास निर्माणका कामहरू तथा रोकिएका योजनाहरू अगाडि बढाउन उम्मेदवार बनेको छु ।”
कञ्चनपुर क्षेत्र १ को विकासका लागि सधैँ अग्रसर रहेको उहाँले प्रतिबद्धता जनाउनुभयो ।
तामाङ अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार बीना मगरलाई पाँच हजार ४७८ मतान्तरले पराजित गर्दै क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो । तर जेनजी आन्दोलनपछि संसद् विगठन भएपछि आगामी निर्वाचनका लागि नेकपा एमालेले तामाङलाई पुनः उम्मेदवार बनाएको हो ।