काठमाडौँ, माघ १३ गते । सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन काठमाडौँ महानगरपालिकाले बरमुढा ग्रास रोप्ने भएको छ ।
अहिले यो ठाउँ युवा र बालबालिकाहरुका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकहरुका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रुपमा उपयोग भएको छ । समय समयमा सार्वजनिक कार्यक्रम पनि हुने गरेका छन् ।
सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना कार्यान्वयन गर्न लागिएको हो ।
६१ हजार २६३ वर्गमिटर यो चउरमा काम गर्नका लागि दुई करोड ७० लाख रुपियाँ खर्च लाग्नेछ । बोलपत्रमार्फत छनोट भएको निर्माण पक्षलाई २०८३ मङ्सिर मसान्तसम्मको समय दिइएको छ ।
सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार यहाँ जमिनको सतह सम्याएर ३ इञ्च मलिलो माटो राखिनेछ । यसमाथि घाँस रोपिनेछ । चउरमा ६ मिटर गहिराइ र १ दशमलव २ मिटर व्यासका ८ वटा आकाशे पानी सङ्कलन पिट हुनेछन् ।
यसबाट खुला ठाउँमा सर्वसाधारणको सहज पहुँच वृद्धि, सामाजिक अन्तरघुलन, वातावरणीय सुधार र सहरी सुन्दरतामा वृद्धि हुने अपेक्षा गरिएको छ ।