जयकृष्ण यादव
इनरुवा, माघ १३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा उत्रेका छन् । प्रमुख राजनीतिक दलका केन्द्रीयस्तरका प्रभावशाली नेताबिच नै प्रतिस्पर्धा हुने देखिएको हो । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र नेकपा (एमाले) का नेतृ भगवती चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरीबिच प्रतिस्पर्धा हुने भएकाले यस क्षेत्रको निर्वाचनलाई विशेष रूपमा हेरिन थालिएको छ ।
अघिल्ला सात निर्वाचनमा निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गच्छदारलाई २०७९ सालको निर्वाचनमा भने नेकपा (एमाले) का नेतृ एवं पूर्वमन्त्री भगवती चौधरीले पराजित गर्नुभएको थियो ।
अहिले यही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनौती थपेको गढी–५ का स्थानीय मतदाता सुरेन्द्र यादवले बताउनुभयो । पाँच पटक उपप्रधानमन्त्रीसहित १८ पटक मन्त्री भइसकेका गच्छदार पुरानै बिरासत जोगाउने पक्षमा हुुनुहुन्छ । उहाँको यो आठौँ चुनावी प्रतिस्पर्धा हो ।
त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र राज्यमन्त्रीको केही महिना अनुभव बटुलेकी चौधरी आफ्नो गत निर्वाचनको जितलाई जोगाउने दौडमा हुनुहुन्छ ।
रास्वपाका नेता अशोककुमार चौधरीले भने जेनजी आन्दोलनपछि परिवर्तनका पक्षमा नागरिक रहेकाले जित्ने दाउसहित मैदानमा उत्रिनुभएको छ ।
यस क्षेत्रबाट गच्छदार २०६४, २०७० सालको संविधान सभा र २०७४ सालमा प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो भने चौधरी २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको थियो । गच्छदार सुनसरी क्षेत्र नम्बर २ र ३ बाट २०४८ सालयता निर्वाचन जित्दै आउनुभएको थियो । उहाँले सुनसरीबाट २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा निर्वाचन जित्नुभएको थियो । उहाँ आमनिर्वाचन २०४८, २०५१ र २०५६ मा नेपाली कांग्रेसबाट उम्मेदवार हुनुभएको थियो । त्यसबेला सुनसरी क्षेत्र नम्बर २ बाट चुनाव लड्नुभएको थियो । सुनसरी क्षेत्र नं. २ त्यस बेला अहिलेको क्षेत्र नम्बर ३ को भूगोलमा थियो । मधेश आन्दोलनपछि २०६४ सालको संविधान सभामा मधेशी जनअधिकार फोरमबाट चुनाव लडेर विजयी हुनुभएको थियो । दोस्रो पटक भएको संविधान सभा निर्वाचन २०७० सालको निर्वाचनअघि फोरम फुटाएर आफ्नै नेतृत्वमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेर सोहीबाट निर्वाचनमा बाजी मार्नुभयो । फेरी २०७४ को निर्वाचनमा पुनः नेपाली कांग्रेसमा फर्किएर निर्वाचनमा विजयी हुनुभएको थियो ।
गत निर्वाचनमा क्षेत्र नम्बर ३ मा चौधरीले ४० हजार ७८८ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वीमा गच्छदारले ३५ हजार छ सय पाउनुभएको थियो ।
यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट दुर्गेश चौधरी, जसपा नेपालबाट बद्रीप्रसाद यादव, आमआदमी पार्टीबाट रोहन साह, नेमकिपाबाट प्रकृति बासी, समावेशी समाजवादी पार्टीबाट किशोरकुमार विश्वास, नेकपा (माओवादी) बाट आशुतोष ढुङ्गेल, श्रम संस्कृति पार्टीबाट रामप्रसाद साह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रमोद पौडेल, आमजनता पार्टीबाट रोशनकुमार साह, सार्वभौम नागरिक पार्टीबाट कृष्णकुमार चौधरीसहित २० जना प्रतिस्पर्धामा रहनुभएको छ । यस क्षेत्रबाट चितनारायण चौधरी, कुमारी उराँव, सुमनकुमारी चौधरी र कासनी थरुनीसहित चार जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले जनाकारी दिनुभयो ।