विनय कर्ण
कल्याणपुर (सप्तरी), माघ १३ गते । सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नयाँ दल उदय र पुरानो दल पकड कायम राख्ने कोसिसमा छन् । चार वटा निर्वाचन क्षेत्रमध्ये सर्वाधिक मतदाता रहेको यस क्षेत्रमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), स्वाभिमान, जनमत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।
एक लाख १९ हजार ४३ मतदाता रहेको यस क्षेत्रमा, नेपाली कांग्रेसबाट जिल्ला सभापति रामदेव साह, नेकपा (एमाले) बाट सुमनराज प्याकुरेल, स्वाभिमान पार्टीबाट सुमितकुमार साह, जनमत पार्टीबाट डा. जयकान्त राउत र रास्वपाबाट पुष्पा चौधरीले उम्मेदवारी दिनुभएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार आआफ्नो प्रतिबद्धतासहित मतदाता रिझाउनमा व्यस्त छन् ।
यसै क्षेत्रबाट दुई पटक पराजित भई तेस्रो पल्ट उम्मेदवार बनेका नेपाली कांग्रेसका जिल्ला सभापति साहले आफ्नो पक्षमा माहोल बन्दै गएकाले यस पटक जनताको विश्वास आफूले जित्ने बताउनुभयो ।
यस्तै दुई पटकको चुनावमा पराजित भएर तेस्रो पटक नेकपा (एमाले) बाट उम्मेदवार बनेका सुमनराज प्याकुरेलले मतदातामाथि आफ्नो पूर्ण भरोसा रहेकाले आफूले चुनाव जित्ने दाबी गर्नुभयो ।
यस क्षेत्रबाट २०७९ सालको निर्वाचनमा जसपा नेपालका तर्फबाट नवलकिशोर साह विजयी हुनुभएको थियो । यसपल्ट उहाँका छोरा सुमित नयाँ पार्टी स्वाभिमान पार्टीबाट उम्मेदवार बन्नुभएको छ । आफ्ना पक्षमा स्वस्फूर्त रूपमा जनलहर देखिएको र त्यो जनलहर मतदानसम्म कायम रहने उहाँको विश्वास छ ।
यस्तै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतका दाजु डा. जयकान्त राउत पनि प्रतिस्पर्धामा हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा दोस्रो स्थानमा रहेका उहाँ यस पटक भने आफूलाई स्थानीय मतदाताले विजयी बनाउने दाबी गर्नुहुन्छ ।
रास्वपाबाट उम्मेदवार बनेकी पुष्पा चौधरीले अहिले पार्टीप्रतिको आकर्षण बढ्दै गएकाले आफ्नो पक्षमा जनलहर नै चलेकाले त्यसको फाइदा आफूलाई हुने विश्वास व्यक्त गर्नुहुन्छ ।
यस क्षेत्रबाट नेकपाका रवीन्द्र चौधरी, जसपा नेपालका श्यामसुन्दर सरदार, उज्यालो नेपाल पार्टीका हर्खनारायण चौधरी, राप्रपाका सत्यजितकुमार झा, नेपाल जनता पार्टीका दीपेन्द्रप्रसाद यादव, नेपाल जनता संरक्षण पार्टीका खेमराज जैसी, नागरिक उन्मुक्ति पार्टीका टीकालक्ष्मी चौधरी, राष्ट्रिय एकता दलका शम्भुप्रसाद यादव र पाँच स्वतन्त्र गरी २१ जना उम्मेदवार पहिलो स्थान प्राप्त गर्नेमा प्रयासरत छन् । उम्मेदवार आफू जित्ने दाबी गरिरहँदा पनि यहाँ कांग्रेस, एमाले, जनमत, स्वाभिमान र रास्वपाबिच कडा प्रतिस्पर्धा हुने मतदाता बताउँछन् । यस क्षेत्रमा नयाँ र पुराना दलबिच शक्ति परीक्षण हुने स्थानीयको भनाइ छ ।