• १३ माघ २०८२, मङ्गलबार

झापाली उम्मेदवार घरदैलोमा व्यस्त

blog

शिवसताक्षी–७ मा क्षेत्र नम्बर ४ का रास्वपा उम्मेदवार शभ्भु ढकाल मतदातासमक्ष आफ्ना कुरा राख्नुहुँदै । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का 

बिर्तामोड, माघ १३ गते । आगामी फागुन २१ गतेको निर्वाचनका लागि झापाका उम्मेदवार मतदाताको घरदैलोमा पुग्न थालेका छन् । झापाका पाँच वटै निर्वाचन क्षेत्रमा मुख्य दल, स्वतन्त्र र नयाँ दलका उम्मेदवार मत माग्नका लागि घरदैलोमा व्यस्त बनेसँगै गाउँघरमा चुनावी सरगर्मी बढेको छ ।

यहाँका पाँच निर्वाचन क्षेत्रबाट पाँच जनाका लागि ९० जनाले उम्मेदवारी दर्ता गराएको झापाका मुख्य निर्वाचन अधिकृत तुलसी नेपालले बताउनुभयो । झापामा सबैभन्दा कम क्षेत्र नम्बर १ मा १५ जना र सबैभन्दा बढी क्षेत्र नम्बर ५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

झापाको क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहेका तथा प्रधानमन्त्रीका रूपमा पार्टीबाट घोषणा गरिएका उम्मेदवार बालेन्द्र शाह निर्वाचनमा रहेका कारण सबैतिरको चासो बढेको छ । उहाँहरू दुवै जना मतपरिणाम आफ्नो पक्षमा पार्न निकै व्यस्त हुन थाल्नुभएको छ ।  

त्यस्तै झापा क्षेत्र नं. २ बाट एमालेबाट सभामुख देवराज घिमिरे र रास्वपाबाट उपसभामुखसमेत रहेकी इन्दिरा रानामगर निर्वाचनको चुनावी भिडन्तमा रहनुभएको दुवै क्षेत्रमा निर्वाचनको माहोल थप तातेको छ । 

झापाको क्षेत्र नम्बर ४ मा स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले आफूले हरेक दिन कम्तीमा १५ भन्दा बढी स्थानमा कोणसभा र सम्भव भएसम्म घरदैलोमा पुग्ने कोसिस गरिरहेको बताउनुभयो । उहाँले टोल समिति गठन गरेर समस्या पहिचान गर्ने र जनताका गुनासा टिपोट गर्ने गरेको बताउनुभयो । गत २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा पनि स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी गराएर घरदैलोमा पुगिसकेका कारण यस पटक सजिलो भएको ढकालको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएका बालेन्द्र शाहले पनि क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका कारण आफूहरूलाई थप मद्दत मिलेको ढकालको भनाइ छ । यसै क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट पूर्वसांसदसमेत रहेका एलपी साँवालिम्बूले निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी बनाएर अहिले घरदैलोमा जुट्नुभएको छ । आफूले दुई कार्यकाल यस क्षेत्रमा निर्वाचित सांसद भएर काम गरिसकेका कारण प्रायः सबैजसो समस्याबारे जानकार रहेको सांसद साँवाले बताउँदै आउनुभएको छ । जेनजी आन्दोलनको मर्म र भावना अनुसार भ्रष्टाचाररहित समाज र सुशासन कायम गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको उहाँको भनाइ छ । 

नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका पुरुषोत्तम चुँडाल राजुले पनि विभिन्न उपसमिति बनाएर चुनावी दौडमा निस्किएको पत्रकार सम्मेलन गरेर जानकारी गराउनुभएको छ । पार्टीका केन्द्रीय सदस्य विजय साम्पाङको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिएको चुँडालले बताउनुभयो । यस्तै नेपाली कांग्रेसका उम्मेदवार  देउकुमार थेबेले पनि निर्वाचन प्रचारप्रसारलाई  तीव्र बनाउनुभएको छ ।