• १३ माघ २०८२, मङ्गलबार

थारूबहुल क्षेत्रमै थारू उम्मेदवार उपेक्षित

blog

घोराहीमा आयोजित एक कार्यक्रममा थारू समुदाय । तस्बिर : सन्तोष दहित

दाङ समाचारदाता

दाङ, माघ १३ गते । थारू समुदायको बाहुल्य रहेको निर्वाचन क्षेत्रमा समेत राजनीतिक दलहरूले थारू उम्मेदवारलाई प्राथमिकतामा नराख्दा समावेशी राजनीतिप्रतिको प्रतिबद्धता प्रश्नको घेरामा परेको छ । 

पुराना मात्र होइन, परिवर्तनको नारासहित उदाएका नयाँ राजनीतिक दलबाट समेत थारू समुदायको अपेक्षित प्रतिनिधित्व हुन सकेको छैन । नेपालको राष्ट्रिय जनगणना–२०७८ का अनुसार देशभर थारू समुदायको जनसङ्ख्या १८ लाख सात हजार १२४ रहेको छ । यो कुल जनसङ्ख्याको ६.२ प्रतिशत हो । जनसङ्ख्याको यो अनुपातका आधारमा १६५ निर्वाचन क्षेत्रबाट हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कम्तीमा १० जना थारू उम्मेदवार प्रमुख दलले उठाउनुपर्ने देखिन्छ । 

थारू अगुवा चन्द्रप्रसाद चौधरीका अनुसार थारू मतदाता धेरै भए पनि उम्मेदवार भने गैरथारू हुने प्रवृत्ति दुःखद छ । “जित्ने सम्भावना भएका पार्टीले थारू उम्मेदवार उठाउँदैनन्, नजित्ने पार्टीले मात्र उठाउने गरेका छन्,” उहाँले भन्नुभयो, “पुराना मात्र होइन, नयाँ दलको व्यवहार पनि उस्तै छ । थारूलाई मतदाताका रूपमा मात्र प्रयोग गरिँदै आएको छ ।” 

दाङका तीन वटै निर्वाचन क्षेत्रमा थारू समुदायको बाहुल्य छ तर तिनै क्षेत्रमा ६० जना उम्मेदवार हुँदा प्रमुख राजनीतिक दलहरूले जम्मा एक/एक जना मात्र थारू उम्मेदवार उठाएका छन् । त्यो पनि थारू समुदायभित्रै प्रतिस्पर्धा हुने गरी उम्मेदवारी परेको छ । दाङ निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसले सहमहामन्त्री योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ भने नेपाली कम्युनिस्ट पार्टीले पूर्वमन्त्री मेटमणि चौधरीलाई अघि सारेको छ । साना दलबाट राष्ट्रिय परिवर्तन पार्टीका रञ्जित चौधरी र जनता समाजवादी पार्टीका भरतलाल चौधरी उम्मेदवार हुनुहुन्छ ।

निर्वाचन क्षेत्र नं. २ मा भने २१ जनाको उम्मेदवारी परे पनि एक जना पनि थारू उम्मेदवार छैनन् । यस क्षेत्रमा जिल्लाको सदरमुकाम घोराही पर्छ, जहाँ थारू समुदायका नगरप्रमुख तथा धेरै जसो वडाध्यक्ष निर्वाचित छन् । क्षेत्र नं. ३ मा २५ जना उम्मेदवार रहेकामा साना दलका चार जना मात्र थारू उम्मेदवार छन् । प्रमुख र नयाँ दलले यहाँ थारू उम्मेदवार उठाएका छैनन् ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतलगायत थारूबहुल जिल्लाको अवस्था पनि उस्तै छ । प्रमुख पुराना दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी तथा नयाँ दल रास्वपा र उज्यालो पार्टीले जनसङ्ख्याका आधारमा थारू उम्मेदवार उठाएको देखिँदैन । 

नेपाली कांग्रेसले देशभर जम्मा सात जना थारू उम्मेदवार उठाएको छ भने एमालेले छ जना मात्र उम्मेदवार अघि सारेको छ । माओवादी केन्द्रले तुलनात्मक रूपमा बढी, १० जना थारू उम्मेदवार उठाए पनि जनसङ्ख्याको अनुपातमा त्यो पर्याप्त छैन । रास्वपाले छ जना र उज्यालो पार्टीले सात जना थारू उम्मेदवार प्रत्यक्षतर्फ उठाएका छन् ।

प्राथमिकतामा परेनन् महिला उम्मेदवार 

विसं २०७९ को प्रतिनिधि सभा निर्वाचनमा दाङका तीन वटै निर्वाचन क्षेत्रमा महिलाको सशक्त उपस्थिति देखिएको थियो । यस पटक भने त्यस्तो देखिएन । नेकपा (एमाले) ले निर्वाचन क्षेत्र नं. १ मा शान्ता चौधरी र क्षेत्र नं. ३ मा कोमल वलीलाई उम्मेदवार बनाएको थियो भने कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचन क्षेत्र नं. २ मा माओवादी केन्द्रकी रेखा शर्मा उम्मेदवार हुनुहुन्थ्यो । शर्माले एमाले महासचिव शङ्कर पोख्रेलसँग प्रतिस्पर्धा गर्दै १९६ मतको अन्तरले जित हासिल गर्नुभयो । चौधरी र वली भने सम्मानजनक मतसहित दोस्रो स्थानमा सीमित हुनुभयो । यो पटकको निर्वाचनका लागि दाङका तीन वटै निर्वाचन क्षेत्रमा ठुला तथा नयाँ कुनै पनि दलले महिला उम्मेदवार उठाएका छैनन् । 

सबै प्रमुख दलले प्रत्यक्षतर्फ पुरुष उम्मेदवारलाई मात्र प्राथमिकता दिएका छन् । तल्लो तहबाट महिला उम्मेदवारका नाम सिफारिस भए पनि अन्तिम सूचीमा महिला परेनन् । एमालेले २०७९ मा उठाएका शान्ता चौधरी र कोमल वलीलाई समानुपातिक सूचीमा राखेको छ तर प्रत्यक्षमा महिला उम्मेदवार नदिई निर्वाचन क्षेत्र नं. १ बाट रेवतीरमण शर्मा, क्षेत्र नं. २ बाट शङ्कर पोख्रेल र क्षेत्र नं. ३ बाट घनश्याम पाण्डेलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले पनि महिलाको नाम सिफारिस भए पनि प्रत्यक्ष उम्मेदवारीमा समेटेको छैन । कांग्रेसले निर्वाचन क्षेत्र नं. १ मा योगेन्द्र चौधरी, क्षेत्र नं. २ मा किरणकिशोर घिमिरे र क्षेत्र नं. ३ मा दीपक गिरीलाई उम्मेदवार बनाएको छ । निर्वाचन क्षेत्र नं. २ मा विमला योगी प्राथमिकतामा रहे पनि अन्ततः टिकट पुरुष उम्मेदवारले पाएका छन् । नेपाली कम्युनिस्ट पार्टी र नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तीन वटै क्षेत्रमा पुरुष उम्मेदवार मात्रै अघि सारेका छन् । 

नेकपाले क्षेत्र नं. १ बाट मेटमणि चौधरी, क्षेत्र नं. २ बाट निर्मल आचार्य र क्षेत्र नं. ३ बाट धनबहादुर मास्कीलाई उम्मेदवार बनाएको छ । त्यसै गरी रास्वपा क्षेत्र नं. १ मा देवराज पाठक, क्षेत्र नं. २ मा विपिन आचार्य र क्षेत्र नं. ३ मा कमल सुवेदीलाई उम्मेदवार बनाइएको छ ।

साना दल र स्वतन्त्र उम्मेदवारतर्फ भने केही महिलाको उपस्थिति देखिएको छ । निर्वाचन क्षेत्र नं. १ मा १४ जना उम्मेदवारमध्ये एक जना पनि महिला छैनन् । क्षेत्र नं. २ मा २३ उम्मेदवारमध्ये कल्पना लामा र विष्णुकुमारी भुसाल गरी दुई महिला स्वतन्त्र उम्मेदवार छन् । क्षेत्र नं. ३ मा २५ उम्मेदवारमध्ये राष्ट्रिय जनमोर्चाका कमला जिसी र आमजनता पार्टीका पाण्डवी नेपाली दुई महिला उम्मेदवार छन् । यो अवस्था दाङमा मात्र सीमित छैन । प्रदेश निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमा ५९९ ले उम्मेदवारी दिएकामध्ये ५६ जना मात्र महिला छन् । प्रमुख दल कांग्रेस, एमाले र नेकपाले एक/एक क्षेत्रमा मात्र महिला उम्मेदवार दिएका छन् भने रास्वपाले महिलालाई प्रत्यक्ष उम्मेदवार बनाएको छैन । नेपाली कांग्रेसले रुकुमपूर्वबाट कुसुमदेवी थापा, एमालेले बर्दिया क्षेत्र २ बाट विमला विक, प्रलोपाले बाँके १ बाट कृष्णा केसी र नेकपा (माओवादी) ले सीता विकको उम्मेदवारी बनाएको छ । लुम्बिनी प्रदेशमा कुल ३३ लाख ८६ हजार ६८० मतदातामध्ये १६ लाख ७१ हजार ४७९ महिला मतदाता छन् ।