बोमलाल गिरी
नवलपुर, माघ १२ गते । नवलपुरको एक विद्यालय प्राङगणमै बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । देवचुली नगरपालिका –१ केउरेनीस्थित नेपाल नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा सोही विद्यालयको लु १ क ३८१४ नम्बरको बसले बालिकालाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट कक्षा नर्सरीमा अध्ययनरत बारा जिल्लाको कलैया नगरपालिका –६ घर भई हाल देवचुली नगरपालिका –१४ सातघरे बस्ने चार वर्षीया सुस्माकुमारी पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।
बस ब्याक गर्ने क्रममा ठक्कर दिँदा घाइते भएकी बालिकालाई उपचारको लागि देवचुली नगर अस्पताल दुम्कौली पठाएकोमा उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको गुरुङले जानकारी दिनुभयो । बसका चालक देवचुली नगरपालिका –१ राममन्दिर वस्ने ५१ वर्षीय जगनाथ लम्साललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।