• ११ चैत २०८२, बुधबार

दलका उम्मेदवार मतदातासँग गाउँमा

blog

नेकपा (एमाले) का उम्मेदवार नगिन्द्रशाही आफ्नो गृहनगर रास्कोटबाट चुनावी अभियान सुरु गर्दै । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, माघ १२ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारहरूले निर्वाचन चिह्न प्राप्त गरेसँगै चुनावी अभियानलाई गाउँतर्फ केन्द्रित गरेका छन्।

माघ ६ गते मनोनयन दर्ता गराएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न प्रदान गरेको थियो। चिह्न पाएसँगै उम्मेदवारहरू मत माग्न गाउँ पसेका हुन्।

नेकपा (एमाले) का उम्मेदवार नगिन्द्र शाही ‘नेशनल’ ले आफ्नो गृहपालिका रास्कोट नगरपालिकाबाट चुनावी अभियान सुरु गर्नुभएको छ। अनौपचारिक भेटघाट जारी रहे पनि एमालेले रास्कोटमा औपचारिक सभाको आयोजना गरेको छ। उम्मेदवार शाहीसँगै जिल्लास्तरका नेताहरू रास्कोट पुगेका छन्। एमाले कालीकोटका पूर्व उपाध्यक्ष दयाराम सिम्खडाका अनुसार पूर्व योजनाअनुसार नै गृहपालिकाबाट औपचारिक अभियान थालनी गरिएको हो।

अभियानमा उम्मेदवार शाहीसँगै नेता तथा पूर्व प्रदेशसभा सदस्य कुर्मराज शाही, जिल्ला अध्यक्ष तुलाराज मल्ल, पूर्व अध्यक्ष जसिप्रसाद पाण्डे, उपाध्यक्ष दयाराम सिम्खडा, रास्कोट नगर इन्चार्ज लक्ष्मणबहादुर बम, समानुपातिक उम्मेदवार यशोदा बराल र दुर्गबहादुर शाही लगायतका नेता-कार्यकर्ता सहभागी छन्।

यसैबिच, नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि अनौपचारिक अभियान सुरु गर्नुभएको छ। उहाँले खाँडाचक्र नगरपालिकाका विभिन्न बस्तीमा पुगेर मतदाता भेटघाट गरिरहनुभएको छ। नेकपाका नेता रत्नबहादुर कार्कीका अनुसार माघ १६ गतेबाट औपचारिक अभियान सुरु हुने र हाल सदरमुकाम मान्म आसपासमा घरदैलो भइरहेको छ।

नेपाली कांग्रेसका उम्मेदवार हर्षबहादुर बम आफ्नो गृहपालिका पचालझरना गाउँपालिकामा केन्द्रित हुनुभएको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश न्यौपाने ‘भकरान्तै’ ले शुभकालिका गाउँपालिकाबाट अभियान थाल्नुभएको छ। सामाजिक सञ्जाल (टिकटक) मा सक्रिय न्यौपाने युवाहरूको टोलीसहित मत माग्न व्यस्त हुनुहुन्छ।

यता, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार एवं प्रवक्ता खड्कबहादुर विश्वकर्माले भने हालसम्म औपचारिक अभियान सुरु गर्नुभएको छैन। उहाँ चुनावी रणनीति बनाउन सदरमुकाम मान्ममा नेताहरूसँग छलफलमा हुनुहुन्छ।

मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालका अनुसार कालीकोटमा सात राजनीतिक दल र तीन स्वतन्त्र गरी कुल १० जना उम्मेदवार चुनावी मैदानमा छन्।