• १२ माघ २०८२, सोमबार

दलका उम्मेदवार मतदातासँग गाउँमा

blog

नेकपा (एमाले) का उम्मेदवार नगिन्द्रशाही आफ्नो गृहनगर रास्कोटबाट चुनावी अभियान सुरु गर्दै । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, माघ १२ गते । अगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै उम्मेदवारले निर्वाचन चिन्ह प्राप्त गरेसँगै गाउँ केन्द्रीत हुन थालेका छन् । 

माघ ६ गते मनोनयन दर्ता गराएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिन्ह प्रदान गरेसँगै उम्मेदवारहरु गाउँ केन्द्रीत भएका हुन् । 

नेकपा (एमाले) कालीकोटका उम्मेदवार नगिन्द्र शाही ‘नेशनल’ ले आफ्नो गृहपालिका रास्कोट नगरपालिकाबाट चुनावी अभियान सुुरु गर्नुभएको छ । अनौपचारिक रुपमा भेटघाट जारी रहे पनि औपचारिक रुपमा गृह क्षेत्र रास्कोट नगरपालिकामा सभाको आयोजना गरेर औपचारिक चुनावीसभा गर्न एमाले उम्मेदवार शाहीसँगै जिल्ला स्तरका सबै नेता रास्कोट पुगेका छन् । 

रास्कोटका स्थानीय तथा एमाले कालीकोटका पूर्व उपाध्यक्ष दयाराम सिम्खडाले यसपालिको चुनावी अभियान आफ्नै पालिकाबाट सुरु गर्ने पूर्व योजनाअनुसार आजबाट औपचारिक्तामा गएको बताउनुभयो । 

अनौपचारिक रुपमा हामी संधै अभियानमा थियौँ, तर आज हाम्रो उम्मेदवारसहितको टोली यहाँ पुगेको र रास्कोटको भूमिबाट अभियानको सुभारम्भ गरिएको बताउनुभयो । अभियानमा उम्मेदवार शाहीसँगै नेकपा (एमाले) का नेता तथा पूर्व प्रदेशसभा सदस्य कुर्मराज शाही, अध्यक्ष तुलाराज मल्ल, पूर्व अध्यक्ष जसिप्रसाद पाण्डे, उपाध्यक्ष दयाराम सिम्खडा रास्कोट नगरका इन्चार्ज लक्ष्मणवहादुर बम समानुपातिक उम्मेदवार यसोदा वराल, दुर्गवहादुर शाही लगायत नेता तथा कार्यकर्ता सहभागी छन् । 

यसैबिच नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पूर्व मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले अनौपचारिक अभियान सुरु गर्नुभएको छ । खाँडाचक्र नगरपालिका भित्रका बस्तीमा जाने र मतदाता भेटघाट गरिरहनु भएको नेकपाले जनाएको छ । नेकपाका नेता रत्नवहादुर कार्कीका अनुसार औपचारिक अभियान त १६ गते बाट सुरु हुन्छ, अहिले सदरमुकाम मान्म आसपासमा घरदैलो चलिरहेको छ । 

काग्रेसका उम्मेदवार हर्षवहादुर बम आफ्नो गृहपालिका पचालझरना गाउँपालिकाबाट चुनावी अभियानमा केन्द्रीत हुनुभएको छ । पछिल्लो समय कालीकोटमा उम्मेदवारी दर्ता गराएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टिकटकर प्रकाश न्यौपाने भकरान्तैले शुभकालिका गाउँपालिकाबाट चुनावी अभियान सुरु गर्नुभएको छ । आफ्ना जेन्जी युवा साथमा लिएर न्यौपानेले आफ्नो दल र आफूलाई भोट मागिरहनुभएको छ । 

तत्कालीन नेकपा (माओवादी) बाट अलग भएको बिप्लव नेतृत्वको पुनर्गठित नेकपा (माओवादी) का उम्मेदवार प्रबक्ता खड्कवहादुर बिश्वकर्माले पनि औपचारिक अभियान सुरु गर्नुभएको छैन । चुनावी रणनीति बनाउन सबै नेतालाई सदरमुकाम मान्ममा बोलाएर छलफल गरिरहनु भएको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालका अनुसार कालीकोटमा सात राजनीतिक दलसहित तीन जना स्वतन्त्रबाट गरी दश जना चुनावी मैदानमा छन् ।