• १० माघ २०८२, शनिबार

‘जीवनस्तर उकास्न सांसदको भूमिका महत्वपूर्ण’

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ १० गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको समग्र विकासलाई सरकारको नीति र विधिमार्फत निर्देशित गरी जनताको जीवनस्तर उकास्न सांसदको भूमिका महत्वपूर्ण हुने जिकिर गर्नुभएको छ । उहाँले राष्ट्रिय सभामा विगतदेखि हुँदै आएका असल अभ्यासलाई अझै सुदृढ र व्यवस्थित बनाउन सबैको योगदान हुने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रिय सभाको १९ औँ अधिवेशनको सुरुवातमा अध्यक्ष दाहालले प्रतिनिधि सभा निर्वाचन भएर त्यसले काम सुरु नगर्दासम्म सङ्घीय संसद्को जिम्मेवारी पूरा गर्न व्यवस्थित र मर्यादित भएर कार्य पूरा गर्न अपिल गर्नुभयो । उहाँले भन्नुभयो, “जेनजी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै समाधान गर्नुपर्ने छ । युवाको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने नै हो ।” अध्यक्ष दाहालले सङ्घीय संसद् यी लक्ष्य पूरा गर्ने केन्द्रबिन्दु भएकाले यसलाई त्यही रूपमा सदुपयोग गर्न अपिल गर्नुभयो । उहाँले राष्ट्रिय सभाको उपलब्धिबारे सभाका सदस्यलाई जानकारी गराउनुभयो । 

राष्ट्रिय सभामा हालसम्म ६८ वटा विधेयक उत्पत्ति भएका छन् । ३९ वटा विधेयक प्रमाणीकरण भएका छन् । १२ वटा विधेयक सरकारले फिर्ता लिएको छ । प्रतिनिधि सभा विघटित हुँदा राष्ट्रिय सभामा दर्ता भई सभाबाट पारित गरेर प्रतिनिधि सभामा विचाराधीन रहेका सातसहित १२ वटा विधेयक निष्व्रिmय भएका छन् । राष्ट्रिय सभामा हाल पाँच वटा विधेयक विचाराधीन छन् । एउटा विधेयक सभामा सैद्धान्तिक छलफल भई सभामा रहेको, एउटा विधेयक विधायन व्यवस्थापन समितिले पारित गरी सभामा प्रतिवेदन पेस गरेको र तीन वटा विधेयक विधायन व्यवस्थापन समितिमा दफाबार छलफलमा छन् । 

संविधान र सभाका नियमावलीबमोजिम प्रतिनिधि सभा विघटन हुँदा वा कार्यकाल पूरा हुँदा विचाराधीन विधेयक निष्क्रिय हुन जान्छ । तर राष्ट्रिय सभामा उत्पत्ति भई सभा र समितिमा विचाराधीन विधेयक मात्र जीवन्त रहन्छ । सभाका अध्यक्ष दाहालले भन्नुभयो, “लामो समय र ठुलो स्रोत साधन खर्चेर राष्ट्रको आवश्यकता पूरा गर्ने उद्देश्यले सदनमा पेस भई विधायिकी प्रक्रियाका अन्तिम चरणमा पुगेका विधेयक निष्क्रिय हुनु दुःखद हो । आगामी दिनमा सदनमा विधेयक प्रस्तुत गर्दा, संविधान संशोधन हुने समयमा महत्वपूर्ण विधेयकको निरन्तरता कायम हुन सक्ने पक्षमा ध्यान दिन जरुरी छ ।”

सभामा जेनजी आन्दोलनको चर्चा

नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले आमनिर्वाचनका उम्मेदवार तथा राजनीतिक दलका नेतालाई विचारको माध्यमले जनताको विश्वास जितेर प्रतिनिधि चयन हुन अपिल गर्नुभएको छ । शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भई देश निर्माणको अभियानले गति लिने सोचसाथ अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो । 

राष्ट्रिय सभाको १९ औँ अधिवेशनको प्रारम्भमा शुभकामना मन्तव्य राख्दै सभाका सदस्य सिटौलाले गत भदौ २३ र २४ गतेको घटनालाई छुट्टाछुट्टै रूपमा व्याख्या गर्नुपर्ने बताउनुभयो । युवाको भदौ २३ गतेको आन्दोलन सुशासन कायम गर्न र सामाजिक सञ्जाल सञ्चालन गर्नका लागि केन्द्रित भएको विचार उहाँले व्यक्त गर्नुभयो । तर आन्दोलनमा घुसपैठ भएर जिउधनको ठुलो क्षति हुन पुगेको र यसबारे जाँचबुझ आयोगको प्रतिवेदनले थप प्रस्ट्याउने नेता सिटौलाको धारणा थियो । नेपाली कम्युनिस्ट पार्टीका डा. वेदुराम भुसालले जुन हिसाबको राजनीतिक परिवर्तन भयो सो आधारमा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण हुन नसक्दा व्यवस्था बदले पनि जनताको अवस्था नबदलेको भाष्य निर्माण भइरहेकोतर्फ आफूले छ वर्ष अघि नै सचेत गराएको स्मरण गराउनुभयो । 

नेकपा (एमाले) का नेता देवेन्द्र दाहालले भदौ २३ गते १९ जनाको मृत्यु भएको बहानामा भदौ २४ गते आन्दोलनमा घुसपैठ गराएर देशलाई खरानी बनाउने आपराधिक कार्य भएको टिप्पणी गर्नुभयो ।

तीन वटा अध्यादेश पेस 

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले तीन वटा अध्यादेश सभासमक्ष पेस गर्नुभयो । सभामा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ सभासमक्ष पेस गर्नुभयो । निर्वाचनसम्बन्धी केही कानुनलाई संशोधन गर्नुपर्ने भएकाले सरकारको सिफारिसमा राष्ट्रपतिले मतदाता नामावली ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश जारी गर्नुभएको थियो । त्यसै गरी प्रधानमन्त्रीको कार्यालयमातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमातहत ल्याउन नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश जारी भएको थियो । 

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ र विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभयो । सभाको अर्को बैठक माघ १३ गते मङ्गलबार बस्ने गरी स्थगित भएको छ ।