• ५ माघ २०८२, सोमबार

जुम्लामा पाँच पार्टीले टुङ्ग्यायाे उम्मेदवार

blog

नौरते नेपाली
सिँजा (जुम्ला), माघ ५ गते  ।
 आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । निर्वाचन नजिकिँदै जाँदा पाँचवटा राजनीतिक दलले आफ्ना उम्मेदवार टुङ्गो लगाइसकेका छन् भने अन्य दलहरू उम्मेदवार छनोटको अन्तिम तयारीमा जुटेका छन् ।

नेकपा एमालेले जुम्लाबाट पार्टी अध्यक्ष शान्तिलाल महतलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले नरेश भण्डारीलाई र नेकपा माओवादी केन्द्रले विर्ष बहादुर शाही (प्रभाजित) लाई उम्मेदवारको रूपमा अघि सारेको हो ।

यसैगरी, नेपाली कांग्रेसले दिप बहादुर शाही र रास्वापाले विनिता कठायतलाई उम्मेदवारको रूपमा अघि सारेको छ । उम्मेदवार टुङ्गो लगाएका दलहरूले निर्वाचन लक्षित सङ्गठन विस्तार, मतदाता भेटघाट तथा आन्तरिक तयारीलाई तीव्रता दिइरहेका छन् । उम्मेदवारहरू आफ्ना एजेण्डा, प्रतिबद्धता र विकासका योजनासहित चुनावी मैदानमा उत्रने तयारीमा छन् ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भने हालसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । मनोनयन दर्ताको समय नजिकिँदै जाँदा ती दलहरू आन्तरिक छलफल, नेतृत्वस्तरको परामर्श तथा सम्भावित उम्मेदवारबिच सहमति जुटाउन व्यस्त रहेका छन् ।

मनोनयन दर्ताका लागि अब दुई दिनमात्रै बाँकी रहेकाले बाँकी दलहरूले पनि चाँडै उम्मेदवारको घोषणा गर्ने अनुमान गरिएको छ । निर्वाचन कार्यालयका अनुसार मनोनयन प्रक्रिया समयमै सम्पन्न गराउन सबै तयारी पूरा गरिएको छ ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनलाई जुम्लाबासीले विशेष महत्त्वका साथ हेरेका छन् । सडक, स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि तथा सिँचाइ जस्ता आधारभूत विकासका मुद्दा यसपटकको निर्वाचनका प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ ।

मतदाताहरूले विगतका प्रतिनिधिको कार्यसम्पादनको मूल्याङ्कन गर्दै योग्य र जिम्मेवार उम्मेदवार छनोट गर्ने मनस्थितिमा रहेको स्थानीयको भनाइ छ । राजनीतिक दलहरूबिचको प्रतिस्पर्धा बढ्दै जाँदा जुम्लामा चुनावी माहोल थप तातिने देखिएको छ ।