• ५ माघ २०८२, सोमबार

पहिलो दलका उम्मेदवारको मनोनयन दर्ता गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित सर्वपक्षिय बैठकमा मञ्चासिन अतिथीहरु । तस्बिर : देवराम यादव

देवराम यादव

सप्तरी, माघ ५ गते । सप्तरीका मुख्य निर्वाचन अधिकृत तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-२ का निर्वाचन अधिकृत किशोर घिमिरेले माघ ६ गते हुने मनोनयन दर्ताका लागि आउने पहिलो दलका उम्मेदवारको मनोनयन दर्ता गरिने जानकारी दिनुभएको छ ।

आइतबार राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित सर्वपक्षिय बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । 

मुख्य निर्वाचन अधिकृत घिमिरेले निर्वाचन आचारसंहिता अनुसार मनोनयन दर्ताका लागि आउने दलले २५ जनाभन्दा बढी व्यक्ति नल्याउन आग्रह गर्नुभयो । उहाँले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै  मनोनयन दर्ताका क्रममा भिडभाड नगर्न र शान्त वातावरण निर्माणमा सहयोग गर्न राजनीतिक दलहरूसँग आग्रह गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको निर्वाचन तालिकाअनुसार माघ ६ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको जनाएको छ । उक्त बैठकमा सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले मनोनयन दर्ताका बेला एकैचोटि भिडभाड हन सक्ने सम्भावना रहेकाले राजनीतिक दलहरूलाई पालैपालो मनोनयन दर्ता गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा राजविराज नगरपालिका कार्यवाहक नगर प्रमुख ईसरत प्रविणसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।