• ५ माघ २०८२, सोमबार

योग्य उम्मेदवार छान्नुस्

blog

म जन्मेको देशमा बेठिक शासकले शासन गरिरहेको देख्नु परेकाले आत्मा गलित भएर आउँछ । आफ्नै आँखाअगाडि छर्लङ्ङै अपराध कर्म भइरहँदा टुलुटुलु हेरेर बस्नुपर्ने अभिशाप हो । घाम लागेको बेलामा हुलका हुल मानिस निर्दोष नागरिकको घरमा पसेर लुटपाट वा डकैती गरिन्छ । अन्त्यमा आगजनी पनि हुन्छ, यसमा राज्य संयन्त्र देखिँदैन । आँखा अगाडि आफ्नै घरसम्पत्ति जलेको हेर्न बाध्य मात्र होइन उजुरी गर्नसम्म पाइएन । यी त भए हुल, आतङ्क र राज्यविहीनताका कुरा । लोकतान्त्रिक व्यवस्थामा सरकारमा बसेकाबाट कानुनविपरीतका काम भएको सुन्दा र देख्दा असह्य हुन्छ । ती कुरा व्यक्त गर्नसमेत सकस छ । त्यसैले जनतामा आह्वान गर्नुपर्ने बेला आएको छ । जनताले पनि न्याय गर्नुपर्ने बेला आएको छ । राजनीतिक दलहरूले पनि हेक्का राख्नुपर्ने बेला आएको छ । 

आउँदो फागुन २१ मा हुने चुनावमा मतदाताले आश, त्रास, भ्रम र जालमा नपरी मतदान गर्नुस् । उम्मेदवार स्वदेशबाट सञ्चालित कि विदेशबाट सञ्चालित हो पहिले नै बुझेर वा नियालेर हेर्नुस् । तस्करका पैसाबाट निर्वाचनका साधन र प्रचार शैली पनि ध्यान दिएर अध्ययन गर्नुस् । बुथमा हुने खर्चका तरिका र बुथमा बस्ने प्रतिनिधिको व्यवहार र चालचलन मसिनुसँग विचार गर्नुस् । गाडी सवारी र तामझामका तरिका, खर्चको खोलो, खुवाइको हैसियत, बेलुकाका रमझम दिउँसोको खाजालगायतको लेखाजोखा राख्नुस् । कस्ता गाडी, कति गाडी, कस्ता र कहाँका मान्छे याद गर्नुस् । पाए पैदल हिँडने, साइकलमा हिँड्ने, पुरानो मोटर साइकलमा हिँड्ने, खाजा पनि निस्तो चिउरा खाँदै हिँड्ने तर सोच विचार आधुनिक वैज्ञानिक स्वाभाविक सामान्य नीति, भविष्य धेरै परसम्म देखेका जनमुखी आचरण भएका नेता हेर्नुस् । 

सिद्धान्त देशमुखी भएका, गरिबमुखी डोके, नाम्ले र खर्पन बोक्नेको हित र विकास हुने प्रकारका नीति बोकेका, स्वदेशी सामान सकेसम्म प्रयोग गर्ने श्रमजीवीलाई कदर गर्ने विदेशी छिमेकीसँग पञ्चशीलको सिद्धान्तबमोजिम मित्रता कायम गर्न ध्यान दिने उम्मेदवार छान्नुहोस् । देशको ढुकुटी चलाइसकेका, कार्यकारिणी पदमा बसेर मोज गरिसकेका, प्रधानमन्त्री, मन्त्री भइसकेका, यो देश र परदेशमा दुवै सन्तान बाँडिएर बसेका, दुवैतिर परिवार बाँडिएर नागरिक बनिसकेका, दोहोरो घरबार भएकालाई छानी छानी हराइदिनुस् । यो तपाईंको हातमा दर्जनौँ दर्जन कलिला बालबालिका सहिद भएर अकस्मात् आएको यो अवसर हो, यसलाई दुरुपयोग नर्गनुस् सदुपयोग गर्नुस् । 

राजनीतिक दलले पनि दलको नेतृत्व सकेसम्म परिवर्तन गर्नुस् । किनकि यी नेतृत्वको व्रिmया प्रतिव्रिmया हेरिसकियो । देश झन् गरिब हुँदै गयो । जनताको थाप्लोमा विदेशी ऋण थपिँदै गयो । युवाले रोजगारी पाएनन् । मजदुरी गर्न पनि विदेशीकहाँ जानु प-यो । यसको दोष पटक पटक दल हाँकेकाले लिनै पर्ने हो । यिनका नेतृत्वबाट देश विकास होइन, विनाशतिर लाग्यो । नीति फेर्नुस्, नेता फेर्नुस् । युवा नेतृत्व चयन गर्नुस् । नयाँ सोच भएको, इमानमा दाग नलागेको नेता बनाउनुस् । यतिले मात्र पुग्दैन चालिस वर्षमुनिका युवालाई पचास प्रतिशत उम्मेदवार बनाउनुस् । मन्त्री, प्रधानमन्त्री बनिसकेकालाई अपवादबाहेक उम्मेदवार नबनाउनुस् । श्रमलाई प्राथमिकता दिने आधुनिक जमानामा मिसिएको दूरदृष्टि भएका युवालाई उम्मेदवार दिनुस् । 

चुनावमा जनताले न्याय गर्ने हो भने राजनीतिका लागेका जनप्रतिनिधिले सेवा गर्ने हो । जनसेवा नगर्ने प्रतिनिधिलाई जनताले नै बदल्ने हो । अब यो सिद्धान्त अवलम्बन गर्नु आवश्यक छ । जेनजीहरूले देश र जनताको हितका निम्ति आन्दोलन घोषणा गरे । उपद्रो अपराधीले गरे । यही निहुँमा कलिला बालबालिका या जेनजीले सहादत प्राप्त गरे । ती कलिला बालबालिकाको ज्यानमा तातो गोली बर्साइयो । यही रगतको मूल्यमा तत्कालीन सरकार ढल्यो । देशका सबै निकाय निष्व्रिmय भए । यही नेपालको संविधान अनुसार हालको सरकारले सपथ खाएर कार्य गरिरहेको छ । 

निर्वाचन दुई वर्षयता सरेर फागुन २१ मा हुँदै छ । सबै कुराको निर्णय अब निर्वाचनबाटै तय हुन्छ । यसका मालिक जनता हुन् । अब उनीहरूले विवेक प्रयोग गर्नु पर्छ । निर्वाचन धाँधली जनताले आफैँ गरेबाहेक दलले र सरकारले गर्नै सक्दैन । किनकि यो दलीय व्यवस्था हो । दलका कार्यकर्ता वडा वडा वा टोल टोलमा छन् । प्रायः सबै स्थापित दलका कार्यकर्ता सव्रिmय छन् । यस्तो अवस्थामा सरकार वा सत्ताले धाँधली गर्नै सक्दैन । कहीँ कतै गरे पनि स्वतः बाहिर फैलिन्छ । तसर्थ मुख्य निर्णायक मतदाता नै हुन् । चुनाव हारजित सामान्य नतिजा हो । प्रव्रिmया र सिद्धान्त ठुलो कुरा हो । कुन दलको के सिद्धान्त छ ? कुन दलका व्यक्ति इमानमा अडेका छन् यो मसिनु गरी हेरिनु आवश्यक छ । हल्लाको भरमा, सामाजिक सञ्जाल फेसबुके कुरा, नक्कली आइडी बनाएर बकवास गरेका कुरा, अन्य सामाजिक सञ्जालमा उल्लीबिल्ली लगाएको कुराले भ्रममा पर्नु/पार्नु हुँदैन । 

चुनाव एक सर्भे हो । समाज जस्तो त त्यस्तै चिन्नु जान्नु सर्भे हो । हाम्रो समाज राजनीतिक चेतनामा अलि पछि परेको र विश्वासलाई भरपर्दो साधनमा लिइन्छ । विश्वास धोखा हो । विश्वास बदलामा आफैँले चिन्नु जान्नु थाहा हो । थाहा अरूले भनेको भरमा हुँदैन । थाहा आफैँले पाउनु पर्छ । हजाराँै किताब पढेर मात्रै थाहा हुँदैन । करोडौँको कुरा सुनेर थाहा हुँदैन । थाहा त अनुभव अनुभूति र साक्षात्कारबाट मात्र पाउन सकिन्छ । हाम्रा दल कस्ता छन् भन्ने कुरा मतदातामा उम्मेदवार कस्ता आए, कति पटक जिते, कति पटक मन्त्री, प्रधानमन्त्री वा सरकारी जागिरमा बसे, उनीहरूका सम्पत्ति हाउभाउ कति र कस्तो छ यो त मतदाताले अध्ययन गरेर अनुभव गर्ने कुरा हो । दल राम्रो भए पनि, नीति राम्रो भए पनि उम्मेदवारको आचरण खराब छ भने जनतालाई भोलि धोखा नै हुने हो । 

गरिबको भोट शोषक, सामन्त र उनीहरूको चाकरलाई पर्नु भनेको पनि धाँधली हो । किसानको भोट सामन्तलाई पर्नु । मजदुरको भोट पुँजीपतिलाई पर्नु वर्गीय दृष्टिबाट धाँधली नै हो । संसद्, कानुन र नीति बनाउने थलो हो । शिक्षा नीति बनाउन निजी विद्यालयका मालिक पठाउने, स्वास्थ्य नीति बनाउन निज अस्पतालका मालिक पठाउने, विकास निर्माणको नीति बनाउन नाफाखोर कालोसूचीमा परेकाहरूलाई पठाउने, कालोसूचीमा साना निर्र्माण व्यवसायीलाई पारेर बिचमा कमिसन खाने निर्माण व्यवसायीका नाममा दर्तावाल ठेकदारलाई पठाउने, मोहीले जग्गाधनीलाई पठाउने गरेर पञ्चायतकालदेखि आजसम्म गरिब जनतामाथि उठ्न सकेनन् । गरिबका छोराछोरी श्रम बेच्न बाध्य विदेशमा छन् । उनीहरूले ज्यान जोखिममा राखेर श्रम गरेको ज्याला आफ्ना परिवार पाल्न पठाएको पैसामा सरकारले दस्तुर लगाएर सोही दस्तुरको पैसाले जापानमा बनेको सवारीसाधन, बेलायतमा बनेको रक्सी, सामान्य उपचार गर्न बैङ्कक र विदेशीको दास बन्न उपचारका नाममा विदेशीको घाटमा गएर देशको स्वाधीनता बिर्सन थालेका कुरा मतदाताले बिर्सन हुँदैन । पाएसम्म स्वच्छ छवि र इमानमा दाग नलागेका आफ्नै मूलका व्यक्तिलाई जिताऔँ । नसके कम्ती बदमासलाई जिताऊँ । यही नै देशका लागि न्याय हुन्छ ।