• ५ माघ २०८२, सोमबार

स्याङ्जाका ५६ मतदानस्थल 'अति संवेदनशील'

blog

राधाकृष्ण डुम्रे

वालिङ (स्याङ्जा), माघ ५ गते । स्याङ्जाका ५६ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले सुरक्षाको दृष्टिकोणले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र समान्य गरी तीन भागमा वर्गीकरण गरेर केन्द्रमा सिफारिस गरेको थियो ।

जिल्लामा रहेका १९९ मतदानस्थलमध्ये ७१ संवेदनशील र ७२ मतदानस्थल समान्यको सूचीमा राखिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभयो । विगतका निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र सुरक्षाको अवस्थालाई आधार मानेर मतदानस्थलको संवेदनशीलता तय गरिएको उहाँको भनाइ छ । 

आगामी फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गरेर मतदानस्थलको अवस्था अनुसार  सुरक्षा योजना बनाएको प्रजिअ अर्यालको भनाइ छ । 

जिल्लामा रहेका १९९ मतदानस्थल मा ३२२ मतदान केन्द्र रहेका छन् । गत निर्वाचनको तुलनामा यसपटक मतदान केन्द्र सङ्ख्या दुई वटाले बढेको हो । जिल्ला कारगार स्याङ्जामा भने एक अस्थायी मतदान स्थल रहेको छ । 

स्याङ्जामा दुई लाख ४८ हजार ८१६ ले मतदान गर्न पाउने भएका छन् । निर्वाचनमा जिल्लामा पुरुष मतदाता एक लाख २२ हजार ४६४, महिला मतदाता एक लाख २६ हजार ३५१ र अन्य समूहका एक जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो ।