• ५ माघ २०८२, सोमबार

प्रशासकीय भवन निर्माण अन्तिम चरणमा

blog

माधवनारायण नगरपालिका रौतहटको निर्माणाधीन प्रशासकीय भवन । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 

रौतहट, माघ ५ गते । रौतहटको माधवनारायण नगरपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत साझेदारीमा निर्माणाधीन भवनको निर्माण हालसम्म ९५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ । 

वडा नं. ३ मा निर्माणाधीन भवनमा बत्ती, धारा तथा झ्याल, ढोका लगाउने कार्य मात्र बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले जानकारी दिनुभयो ।

निर्माणाधीन प्रशासकीय भवनको कूल लागत एघार करोड ८८ लाख ९२ हजार २९४ रुपियाँ ६३ पैसा रहेको छ । लिफ्ट सहितको साढे तीन तले प्रशासकीय भवनको लागि २०८० कात्तिक १९ गते चण्डी श्री राम जेभी नुवाकोटले नगरपालिकासँग सम्झौता गरी निर्माण तिव्र गतिमा अगाडि बढाएको निर्माण सेवाका प्रमोद यादवले जानकारी दिनुभयो । 

सम्झौताको म्याद २०८२ चैत ३० गते सम्म रहेता पनि २०८२ माघ महिनाभित्र काम सम्पन्न गरेर नगरपालिकालाइ सुम्पने तयारि निर्माण कम्पनीको रहेको उहाँले बताउनुभयो ।

नगर प्रमुख बैजनाथ प्रसाद यादवका अनुसार आफ्नो भवनबाट नगरपालिका कार्यालयको सेवा प्रवाह सुचारु भएपछि नागरिकले छिटो छरितो सेवा पाउने भएकोले  विकास निर्माणका अन्य काम संगै प्रशासकीय  भवनलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताउनुभयो ।

आफ्नो भवनबाट सेवा प्रवाह हुँदा सेवाग्राही  अहिलेको भन्दा पनि सन्तुष्ट हुने तथा कर्मचारीलाई काम गर्न सहज हुने नगर प्रमुख यादवले दावी गर्नुभयो । नगरपालिका भवन नहुँदा जनताले बिभिन्न कारण सेवा प्रवाहमा सास्ती खेप्नु परेका कारण प्रशासकीय भवन निर्माणको लागि नगर प्रमुख यादवले करिव १ करोड मूल्य बराबरको पाँच कट्ठा जग्गा निःशुल्क रुपमा नगरपालिकालाई दान गर्नु भएको थियो ।