• ४ माघ २०८२, आइतबार

समावेशी क्रिकेट पिच निर्माण अभियान सुरु

blog

काठमाडौँ, माघ ४ गते । नेत्रहीन क्रिकेट सङ्घ नेपालले विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्यमा सन् २०२६ भित्र देशका सातै प्रदेशका १७ स्थानमा समावेशी क्रिकेट पिच तथा बहुउद्देश्यीय खेल कोर्ट निर्माण गर्ने अभियान अघि बढाएको छ । 

यस अभियानको औपचारिक सुरुवात गण्डकी प्रदेश, पर्वत जिल्ला अन्तर्गत शिवालय माध्यमिक विद्यालयबाट गरिएको हो । हालको अवस्थामा दृष्टि सम्बन्धी अपाङ्गता भएका बालबालिका लगायत अन्य प्रकारका अपाङ्गता भएका बालबालिकाको खेलकुदमा पहुँच र सहभागिता अत्यन्तै न्यून रहेको देखिन्छ। 

अधिकांश विद्यालय तथा समुदायमा अपाङ्गता भएका बालबालिकालाई खेलकुदभन्दा बढी गायन, नृत्य जस्ता सीमित अतिरिक्त क्रियाकलापमा मात्र सहभागी गराइएको पाइन्छ ।

खेलकुदमा सहभागी हुने तीव्र इच्छा हुँदाहुँदै पनि सीमित वा शून्य स्रोत–साधन, दक्ष प्रशिक्षकको अभाव तथा अवसर नहुनुका कारण उनीहरू खेलकुद गतिविधिबाट वञ्चित भइरहेका छन् ।

यही अवस्थालाई मध्यनजर गर्दै नेत्रहीन क्रिकेट सङ्घ नेपालले अपाङ्गता भएका बालबालिकाको खेलकुदमा पहुँच अभिवृद्धि, खेल सिप विकास, पुनर्स्थापना तथा सामाजिक समावेशीकरणलाई प्रवर्धन गर्ने उद्देश्यका साथ समावेशी क्रिकेट पिच तथा बहुउद्देश्यीय खेल कोर्ट निर्माणको पहल थालेको हो ।

सङ्घका अनुसार, यस्ता संरचना निर्माण पश्चात अपाङ्गता भएका बालबालिकाको खेलकुदमा सहभागिता उल्लेखनीय रूपमा बढ्नुका साथै समाजमा विद्यमान नकारात्मक धारणा र भेदभाव हटाउन समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

नेत्रहीन क्रिकेट सङ्घ नेपालले खेलकुदलाई समावेशी समाज निर्माणको सशक्त माध्यमका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।