• ४ माघ २०८२, आइतबार

कुर्घा शिविरमा ९०६ ले लिए स्वास्थ्य सेवा

blog

मुसिकोट नगरपालिका –६ कुर्घाका सञ्चालित स्वास्थ्य शिविर । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), माघ ४ गते । गुल्मीको मुसिकोटमा प्रसिद्ध भाटी मेलाको अवसरमा मालिका युवा क्लबको आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मुसिकोट नगरपालिका –६ को कुर्घामा मुसिकोट नगरपालिकाको समन्वय र बुटवल हस्पिटल प्रालिको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । 

शिविरमा ९०६ जनाले विभिन्न सेवा लिएका थिए । शिविरमा इसिजी ११६, सुगर जाँच १०५ र भिडियो एक्सरे २६ जनाको गरिएको शिविरको सहजकर्ता भरतजङ्ग क्षेत्रीले जानकारी दिनुभयो ।

क्षेत्रीका अनुसार शिविरमा सुगर, प्रेसर, थाइराइड, पेट तथा छालारोग विशेषज्ञ डाक्टर गौरव धिताल, हाडजाेर्नी तथा नसारोग विशेषज्ञ डा. समीर उल्लाह, बालरोग विशेषज्ञ डा. प्रदीप शर्मा, सुगर, प्रेसर तथा मिर्गौला रोग विशेषज्ञ डा. अब्दुर साबुर खान, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ईशु शर्मासहित १६ जना विशेषज्ञ डाक्टरले बिरामीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

क्षेत्रीले शिविरमार्फत विशेषज्ञ डाक्टर गाउँमै आएर उपचार गर्दा स्थानीय उत्साहित हुने र आफूमा भएका समस्याहरुको परामर्श लिएर समाधान गर्न पाउँदा जनता प्रत्यक्ष फलदायी हुने भएकाले सबैलाई आकर्षण बढेको बताउनुभयो । शिविरमा आउनु भएकी मुसिकोट नगरपालिका –६ की खिमकुमारी भट्टराई  गाउँमै विशेषज्ञ डाक्टरसँग चेकजाँच गराउन पाउँदा खुसी हुनुहुन्थ्यो । पैताला झमझमाउने समस्याले पीडित भट्टराईले गाउँमै विशेषज्ञ सेवा पाउँदा राहत भएको बताउनुभयो ।

स्थानीय कमलपति अर्याल पनि बुटवल काठमाडौं पुगरे पाउने विशेषज्ञ डा. गाउँमै भेट्दा उत्साहित हुनुहुन्थ्यो । धेरै लामो समयपछि गाउँमै ठूला डा. भेटेर आफ्नो समस्या खुलेर राख्ने अवसर पाएकोमा आयोजकलाई अर्यालले आभार प्रकट गर्नुभयो ।

शिविरमा सहभागी पेट तथा छाता रोग विशेषज्ञ डा. गौरव धितालले धेरैजस्तो सुगर, प्रेसर र दमका बिरामी बढि भेटाएका बताउनुभयो । महिला र उमेर ढल्केकाहरु रोगबाट बढी पीडित भएकाले उमेरअनुसार खानपान र व्यायाम तथा नियमित  स्वास्थ्य परीक्षण गर्न धितालले सुझाव दिनुभयो।

शिविरमा सेवा लिएका बिरामीलाई स्वास्थ्य परीक्षणपछि निःशुल्क औषधी वितरण गरिएको छ । भाटी मेलामा गत पुस २३ गतेदेखि माघ ३ गतेसम्म कृषि खेलकुद, सांस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो । युवाहरुको खेलप्रतिको  ऊर्जालाई टेवा दिने, स्थानीय कला संस्कृतिको विकास, कृषि उत्पादन र पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्देश्यले बर्सेनि भाटी मेला आयोजना गर्ने गरिएको क्लबमा अध्यक्ष राजेश रायमाझीले बताउनुभयो ।

शिविरको संयोजन गरिरहेको मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेल  ‘जीवन’ ले खेल र साँस्कृतिक कार्यक्रमसँगै मेला आयोजकले स्वास्थ्य शिविरको योजना पेश गरेपछि आफूहरुले आर्थिक साझेदारी गरेको बताउनुभयो । उहाँले आफूहरुले विभिन्न स्वास्थ्य संस्थाबाट जनशक्तिसहित व्यवस्थापकीय काममा आर्थिक सहयोग गर्दा स्थानीय नागरिकले महत्वपूर्ण अवसर पाएको बताउनुभयो । खरेलले सबै वडामा क्रमशः शिविरलाई जोड्दै जाने बताउनुभयो ।