• ४ माघ २०८२, आइतबार

मेलाले स्थानीय उत्पादनको बजारीकरणमा टेवा

blog

स्थानीय उत्पादन बिक्री तथा अवलोकनका लागि राखिएको स्टल । तस्बिर :ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, माघ ४ गते ।
बेनीमा सञ्चालन भएको माघे सङ्क्रान्ति मेलाले म्याग्दीका स्थानीय उत्पादनको बजारीकरण र प्रवर्धनमा टेवा पुगेको छ । जिल्लाका ६ वटै स्थानीय तहबाट आएका उद्यमीहरूले मेलामा कृषिजन्य उत्पादन, जडिबुटी तथा घरेलु उद्योगका सामग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि स्टलमा राखेका थिए । मेला मार्फत स्थानीय उत्पादनको बिक्री, बजारीकरण र प्रवर्धनमा सहयोग पुगेको उद्यमीहरूले बताएका छन् ।

बाँसबाट निर्मित विभिन्न सामग्रीहरू, अल्लो कपडा, ढाका, हातेकागज, घरेलु सरसफाइ सामग्रीदेखि कृषिजन्य उत्पादनसम्मका सामग्री बिक्री तथा प्रदर्शनीमा राखिएका स्टलहरूमा सर्वसाधारणहरुको भिड देखिएको थियो ।

उद्यमीहरूले स्थानीय कच्चा पदार्थको उपयोग गरी उत्पादन गरेका सामग्रीले रोजगारी सिर्जना हुनुका साथै परम्परागत सीपको संरक्षणमा पनि योगदान पुर्‍याएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनु भयो । निःशुल्क स्टलको व्यवस्थाले किसान, महिला उद्यमी र साना व्यवसायीलाई आफ्ना उत्पादन चिनाउन सहज भएको महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले बताउनु भयो ।

बेनी नगरपालिका-७, मङ्गलाघाट स्थित दोभान कृषि सहकारी संस्थाले बाँसबाट निर्मित विभिन्न आकर्षक सामग्रीहरू बिक्रीका लागि स्टलमा राखेको छ । बाँसबाट निर्मित सामग्रीहरू खरिद गर्न र अवलोकनका लागि मेलाका दर्शकहरू आउने गरेको सहकारीका अध्यक्ष अमृतदेवी बानियाँले बताउनु भयो ।

सहकारीले तालिम दिएर सामूहिक रूपमा बाँसबाट विभिन्न दैनिक उपयोगमा आउने सामग्रीहरू उत्पादन गरेको उहाँले बताउनु भयो । वन जङ्गलमा खेरगएको वनपैदावारको सदुपयोग गरेर सहकारी मार्फत विभिन्न आकर्षक सामग्रीहरू उत्पादन गरिएको उहाँले बताउनु भयो । स्टलमा बाँसबाट निर्मित एक सयदेखि २० हजार रुपियाँसम्मका विभिन्न सामग्रीहरू राखिएका छन् ।

बेनी नगरपालिका ८ की नरु थजालीले स्थानीय उत्पादन झोल साबुनको स्टल राख्नु भएको छ । उहाँले हातधुने, हर्पिक, फिनेल, सिसा सफा गर्ने लगायतका दैनिक रूपमा घरायसी सरसफाइमा उपयोगमा आउने सामग्री बिक्रीका लागि राख्नु भएको छ । स्टलमा आउने दर्शकहरूले सामग्री खरिद गरेर लैजाने गरेको उहाँले बताउनु भयो । ६ महिनाको तालिम पाएपछि बेनी नगरपालिका ८ की वडा सदस्य समेत रहनु भएकी थजालीले  स्थानीय कच्चा पदार्थको प्रयोग गरेर सरसफाइका सामग्रीहरू उत्पादन गर्दै आउनु भएको छ ।

मेलामा अल्लोबाट निर्मित कपडा,ढाका, हाते कागज, कोदोको पिठो, सिमी, भटमास, टिमुर, सिस्नोको धुलो, कागती, सिन्की, रातो च्याउ, बेसार, भागो लगायत स्थानीय उत्पादनको स्टल छन् ।

मेलामा म्याग्दी जिल्लामा उत्पादित कृषिजन्य उत्पादन, जडिबुटी, लघु तथा घरेलु उद्योगका सामानहरू बिक्री, वितरण गर्नुका साथै प्रदर्शनीका लागि निःशुल्क स्टल उपलब्ध गराइएको महिला उद्यमी विकास समितिका महासचिव प्रमिला जोशी श्रेष्ठले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘‘किसानले उत्पादन गरेका कतिपय सामग्री र वस्तुका बारेमा सर्वसाधरणहरूलाई जानकारी समेत छैन । मेलाका अवसरमा त्यस्ता उत्पादनको प्रचारप्रसार, प्रवर्धन र बजारीकरणमा सहयोग पुग्ने विश्वास गरेका छौं ।’’

म्याग्दी उद्योग वाणिज्य सङ्घ अन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा गत पुस ३० गते देखि सुरु भएको माघे सङ्क्रान्ति मेला, खाना तथा कृषि प्रदर्शनी शनिबार समापन भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारभन्दा बढी दर्शकले मेलाको अवलोकन गरेको आयोजकको भनाइ छ ।