काठमाडौँ, माघ ४ गते । नेपाल जियोटेक्निकल सोसाइटी (एनजिएस) ले जियोटेक्निकल मोडेल प्रतियोगिता तथा एनजिएस युवा सिम्पोजियम–२०२६ काठमाडौंको पुल्चोक क्याम्पसस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम आगामी मार्च १७–१९, २०२७ मा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन जियोमान्डु–२०२७ को प्रमुख तयारी कार्यक्रमका रूपमा आयोजना गरिएको हो । जियोमान्डु–२०२७ को मुख्य विषय “पर्वतीय भू–प्रविधि तथा पूर्वाधार विकास” छ ।
प्रतियोगितामा नेपालको जटिल तथा पर्वतीय भूगोलमा पूर्वाधार विकासका चुनौतीलाई सम्बोधन गर्ने नवीन भौतिक तथा अवधारणात्मक जियोटेक्निकल मोडेलहरू प्रदर्शन गरिएका थिए । सडक पहिरो, सिन्कहोल, भूकम्पजन्य क्षति, जग प्रणाली, पेभमेन्ट, जियोग्रिडको प्रयोग, जलविद्युत् संरचना, बाढी तथा जल व्यवस्थापन, ढलान स्थिरीकरण र सुरुङ निर्माणजस्ता विविध विषयमा मोडेलहरू प्रस्तुत गरिएको थियो ।
प्रतियोगितामा चार विश्वविद्यालय, आठ इन्जिनियरिङ कलेज तथा ११ विद्यार्थी टोलीको उत्साहपूर्ण सहभागिता थियो । अधिकांश सहभागी स्नातक तहका इन्जिनियरिङ विद्यार्थी थिए ।
प्रतियोगितामा पुल्चोक क्याम्पसले “सडक ढलानका लागि साइफन ड्रेनेज प्रणालीमार्फत पहिरो न्यूनीकरण” शीर्षकको मोडेलसहित प्रथम पुरस्कार हासिल गरेको छ । निर्णायक मण्डलले उक्त मोडेललाई सडक करिडोरमा पहिरो जोखिम घटाउन अत्यन्त व्यावहारिक र प्रभावकारी ठहर गरेको थियो ।
निर्णायक मण्डलका संयोजक तथा सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर सौजन्य नेपालको अध्यक्षतामा भएको मूल्याङ्कनमा युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेज ले “ल्यान्डस्लाइडका लागि स्मार्ट जियोटेक्निकल इन्स्ट्रुमेन्टेसन तथा प्रारम्भिक चेतावनी प्रणाली” मोडेलसहित प्रथम उपविजेता र हिमालय कलेज अफ इन्जिनियरिङ ले “अरनिको राजमार्ग, धुलिखेल (काभ्रे) मा कट ढलानको स्थिरता विश्लेषण” मोडेलसहित द्वितीय उपविजेता स्थान हासिल गरेका छन् ।
प्रतियोगितासँगै सम्पन्न एनजिएस युवा सिम्पोजियम–२०२६ ले विद्यार्थी तथा युवा इन्जिनियरहरूका लागि प्राविधिक आदानप्रदान, व्यावसायिक छलफल तथा युवा सहभागिताको उत्कृष्ट मञ्च प्रदान गरेको थियो । जियोमान्डु–२०२७ का संयोजक डा. ढुण्डीराज पाठकको अध्यक्षतामा सम्पन्न सत्रमा विशेष युवा प्रवचन तथा विषयगत सम्बोधन गरिएको थियो ।
एनजिएस उत्कृष्ट स्नातकोत्तर थेसिस पुरस्कार विजेता इ. आदर्श ढकाल ले “पार्श्व भारित पाइल जगको विश्लेषणात्मक तथा सङ्ख्यात्मक मोडेलिङ” विषयमा प्रवचन दिनुभएको थियो भने ऊर्जा मन्त्रालयकी डा. आस्था भट्ट ले जलविद्युत् बाँध प्रणालीमा प्रवाह गतिशीलता तथा ऊर्जा क्षय संयन्त्रबारे प्रस्तुति राख्नुभयो ।
युवा संयोजक इ. राजन केसी ले नेपालको जटिल भूगोलमा सुरक्षित, लचिलो र दिगो सडक पूर्वाधार विकासमा जियोटेक्निकल इन्जिनियरिङको भूमिकाबारे विषयगत प्रवचन दिनुभयो ।
त्यसपछि इ. अभाष आचार्यको संयोजनमा “नेपालको यातायात पूर्वाधार सुदृढीकरणः योजना, डिजाइन तथा अभ्यासमा जियोटेक्निकल इन्जिनियरिङको भूमिका” विषयक उच्चस्तरीय प्यानल छलफल सम्पन्न भयो । छलफलमा सरकारी, शैक्षिक तथा निजी क्षेत्रका विज्ञहरू इ. शुभराज नेपाल, इ. हेमन्त तिवारी, इ. उदयराज नेपाल, डा. मनिता तिमिल्सिना र इ. अर्पणबहादुर सिंह सहभागी हुनुहुन्थ्यो । सहभागीहरूले विस्तृत साइट अनुसन्धान, प्रारम्भिक चरणमै जियोटेक्निकल विशेषज्ञको संलग्नता तथा ज्ञान हस्तान्तरणका लागि व्यवस्थित अभिलेखीकरणको आवश्यकता औंल्याएका थिए ।
कार्यक्रममा एनजिएसकी महासचिव इ. कल्पना अधिकारी ले क्षमता अभिवृद्धि, व्यावसायिक विकास, युवा सहभागिता तथा अन्तर्राष्ट्रिय सहकार्यमा सोसाइटीका निरन्तर प्रयासले नेपालको जियोटेक्निकल समुदायलाई सशक्त बनाइरहेको बताउनुभयो ।
एनजिएसका अध्यक्ष प्रा. डा. इन्द्रप्रसाद आचार्य र सम्मेलनकना अध्यक्ष डा. मन्दिप सुवेदीले यो प्रतियोगिता तथा सिम्पोजियम जियोमान्डु–२०२७ को दीर्घकालीन दृष्टिकोणसँग जोडिएको उल्लेख गर्नुभयो । आगामी सम्मेलनमा पहिलोपटक नेपालमा ११औं एसियन यङ जियोटेक्निकल इन्जिनियर्स कन्फरेन्स र १औं साउथ एसियन कन्फरेन्स अन जियोटेक्निक्स पनि आयोजना हुने जानकारी दिइयो ।
कार्यक्रमको समापन पुरस्कार वितरण समारोहका साथ गरिएको थियो । प्रमुख अतिथि इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा. डा. सुशीलबहादुर बज्राचार्य र विशेष अतिथि सडक विभागका महानिर्देशक डा. विजय जैसीले विजेता टोलीलाई पुरस्कार प्रदान गर्नुभयो ।