माधवप्रसाद बराल
माछापुच्छे (कास्की), माघ ४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले कास्कीका तीन वटै क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ । नेकपा एमालेका एक केन्द्रीय सदस्यका अनुसार कास्की क्षेत्र नम्बर १ मा बैनबहादुर अधिकारी क्षेत्री, क्षेत्र नम्बर २ मा कृष्ण थापा र तीन नम्बर क्षेत्रमा दामोदर वैरागीलाई उम्मेदवार बनाउने भएको हो । निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको तालिका छ ।
एमाले कास्कीका अध्यक्षसमेत रहनुभएका क्षेत्री २०७४ देखि २०७९ सम्म जिल्ला समन्वय समिति कास्की प्रमुख हुनुहन्थ्यो । उहाँले संसदीय चुनावमा टिकट पाएको पहिलो हो । । कास्की एकमा युवा नेता दिलीप न्यौपानेले टिकट पाउने चर्चा थियो । विद्यार्थी राजनीतिबाट आउनुभएका न्यौपानेको नाम एकबाट सिफारिस भएको थियो ।
कास्की क्षेत्र नम्बर २ मा एमालेले पोखरा महानगरका पूर्वप्रमुख तथा गण्डकी प्रदेशका पूर्वसांसद कृष्ण थापालाई टिकट दिएको छ । रवीन्द्र अधिकारीको विरासत रहेको र विद्या भट्टराईले निरन्तरता दिएको यस क्षेत्रमा यसपटक युवा नेता रश्मि आचार्यले अवसर पाउने चर्चा थियो ।
विद्यार्थी राजनीतिबाट आएका आचार्यको नाम क्षेत्र नम्बर २ बाट सिफारिस भएको थियो । थापा २०७९ सालको पोखरा महानरपालिकाको मयेरमा पराजित हुनुभएको थियो । क्षेत्र नम्बर ३ मा दामोदर वैरागीले पुनः टिकट पाउनुभएको छ । उहाँ प्रतिनिधि सभाको निवर्तमान सांसद हुनुहुन्छ ।