• २६ पुस २०८२, शनिबार

स्वास्थ्य बिमामा साढे तीन हजार आबद्ध

blog

अमरगढी समाचारदाता

डडेलधुरा, पुस २५ गते  । स्वास्थ्य बिमा कार्यक्रममा डडेलधुराका करिब साढे तीन हजार नागरिक समेटिएका छन् । एक लाख ४२ हजारभन्दा बढी जनसङ्ख्या रहेको डडेलधुरामा ३० हजार ४१५ जना मात्र स्वास्थ्य बिमामा आबद्ध भएका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार डडेलधुराको कुल जनसङ्ख्या एक लाख ३९ हजार ६०२ रहेको छ । 

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुनेमा पुरुषभन्दा महिलाको सङ्ख्या केही बढी रहेको छ भने सबैभन्दा बढी बिमित अमरगढी नगरपालिकामा रहेका छन् । स्वास्थ्य बिमा बोर्ड डडेलधुराका दर्ता अधिकारी जयसिंह साउदका अनुसार बिमा कार्यक्रममा १४ हजार ४६० पुरुष र १५ हजार ९५५ महिला आबद्ध भएका छन । स्थानीय तहगत तथ्याङ्क अनुसार सबैभन्दा बढी बिमित अमरगढी नगरपालिकामा रहेका छन् । अमरगढी नगरपालिकामा १३ हजार ७८२ जना बिमा कार्यव्रmममा आबद्ध भएका छन् । जसमा छ हजार ७७८ पुरुष र सात हजार चार जना महिला छन ।

भित्री मधेशको परशुराम नगरपालिकामा चार हजार ३२७ जना बिमित छन् । त्यसमध्ये दुई हजार ५५ पुरुष र दुई हजार २७२ महिला रहेका छन् । आलीताल गाउँपालिकामा एक हजार २७३ जना स्वास्थ्य बिमामा आबद्ध छन् । अजयमेरु गाउँपालिकामा दुई हजार ६५४ जना बिमा कार्यक्रममा आबद्ध भएका छन । भागेश्वर गाउँपालिकामा एक हजार ३४४ जना बिमित रहेका छन् । गन्यापधुरा गाउँपालिकामा तीन हजार ३०७ जना स्वास्थ्य बिमामा आबद्ध छन् । नवदुर्गा गाउँपालिकामा बिमा गर्नेको सङ्ख्या तीन हजार ७२८ पुगेको छ ।

अझै पनि कतिपयले स्वास्थ्य बिमाको महत्व नबुझ्दा बिमामा समेटिन नसकिरहेको दर्ता अधिकारी साउदले बताउनुभयो । स्वास्थ्य बिमामा नागरिकको पहुँच बढाउने उद्देश्यले हरेक वडामा दर्ता सहयोगीसमेत रहेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक तीन हजार पाँच रुपियाँ प्रिमियम तिरेपछि एक घरका पाँच जनासम्मले वर्षमा एक लाख रुपियाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा पाउने व्यवस्था छ । पाँच जनाभन्दा बढी सदस्य रहेको परिवारका हकमा थप एक जनाका लागि सात सय रुपियाँ प्रिमियम तिरेमा २० हजार रुपियाँ बराबरको अतिरिक्त सेवा लिन सकिने प्रावधान छ ।