धनगढी समाचारदाता
धनगढी, पुस २५ गते । सुदूरपश्चिम प्रदेशका दुई नाकामा ‘इन्टिग्रेटेड चेकपोस्ट’ निर्माण गरिँदै छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलालीस्थित त्रिनगर (गौरीफन्टा) र कञ्चनपुरस्थित गड्डाचौकी नाकामा इन्टिग्रेटेड चेकपोस्ट निर्माण गर्न लागिएको हो । नाकामा चेकजाँचलाई व्यवस्थित बनाउनका लागि इन्टिग्रेटेड चेकपोस्ट निर्माण गर्न लागेको जनाइएको छ ।
निर्माणाधीन चेकपोस्टको बुधबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले अनुगमन गर्नुभएको छ । चेकजाँचमा देखिएको समस्या समाधानका लागि इन्टिग्रेटेड चेकपोस्ट निर्माण भइरहेको आर्थिक मामिलामन्त्री थापाले बताउनुभयो ।
“भारतसँगका इन्ट्री प्वाइन्टमा भारतीय पर्यटकको आवतजावत गर्दा वा नेपाली पनि भारततर्फ जाँदै गर्दा धेरै समस्या देखिएका छन्,” उहाँले भन्नुभयो, “अलिकति व्यवस्थित किसिमले चेकजाँच नभएका कारण ती समस्या देखिएका हुन ।” चेकजाँचलाई व्यवस्थित बनाउनका लागि इन्टिग्रेटेड चेकपोस्ट निर्माणको काम भइरहेको मन्त्रीको भनाइ थियो । उहाँले इन्टिग्रेटेड चेकपोस्ट निर्माणका लागि मन्त्रीपरिषद्मा छलफल गरेर बजेटसमेत विनियोजन गरेको बताउनुभयो । त्रिनगर र गड्डाचौकीमा इन्टिग्रेटेड चेकपोस्ट बनेमा भारतबाट आउने आमनागरिक, पर्यटकलाई सजिलो हुने मन्त्री थापाले उल्लेख गर्नुभयो ।
उहाँले चेकजाँचमा देखिएका विभिन्न समस्या निराकरणका लागि व्यवस्थित किसिमको चेकजाँच गर्ने प्रणाली स्थापना गर्न खोजेको बताउनुभयो । चेकपोस्टमा विमानस्थलको जस्तै स्क्रिनिङ मेसिन राखेर सामान र मान्छे स्क्रिनिङ गरी चेकजाँच गरिने जनाइएको छ ।