सियोल, पुस १८ गते । दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योलविरूद्ध पुनः पक्राउ पुर्जी जारी गरेको छ ।
अभियोजनकर्ताहरूले नोभेम्बरमा युनविरूद्ध देशको शत्रुलाई सहयोग गरेको धेरै आरोपमा अभियोग लगाएका थिए । उहााले सैन्य शासन घोषणा गर्ने आफ्नो प्रयासलाई बलियो बनाउन उत्तर कोरियामाथि ड्रोन उडानहरू गर्न आदेश दिनुभएको थियो ।
त्यस मुद्दाको लागि पक्राउ पूर्जीको म्याद जनवरी १८ सम्ममा समाप्त हुनुपर्ने थियो तर शुक्रबारको आदेशले यसलाई अधिकतम छ महिना विस्तार गर्नेछ ।
दक्षिण कोरियाको राजधानी सियोलस्थित जिल्ला अदालतका एक अधिकारीले एएफपीसँग भन्नुभयो, “उहाँले आफुमाथि लगाइएका मुद्दामा प्रमाण नष्ट गर्न सक्ने सम्भावनालाई मध्यनजर गद पक्राउ पूर्जी जारी गरिएको हो ।
युन महिनौंदेखि हिरासतमा हुनुहुन्छ र उहाँविरूद्ध धेरै आपराधिक मुद्दामा अनुसन्धान तथा सुनुवाई भइरहेको छ ।
उहाँले सन् २०२४ डिसेम्बर ३ मा दक्षिण कोरियामा नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्नुभएको थियो । यसले कोरियाली संसद् परिसरबाहिर र राजधानी सियोलसहित देशका प्रमुख सहरमा ठूलो विरोध प्रदर्शन निम्त्यायो । उहाँलाई अप्रिलमा आधिकारिक रूपमा पदबाट हटाइएको थियो ।
युनलाई गत वर्षको जनवरीमा हिरासतमा लिइएको थियो । उहाँ दक्षिण कोरियाको इतिहासमा पदमा नै रहेका समय हिरासतमा लिइएको पहिलो बहालवाला राष्ट्रपति बन्नु भएको थियो । उहाँले गिरफ्तारीको विरोध गरेपछि हप्तौँपछि पक्राउ गरिएको थियो ।
उहाँको सैन्य विद्रोहको सुनुवाइ जारी रहँदा उहाँलाई मार्चमा प्रक्रियागत आधारमा रिहा गरिएको थियो तर उहाँले त्यस मुद्दासँग सम्बन्धित प्रमाणहरू नष्ट गर्न सक्ने दावीसहित जुलाईमा फेरि हिरासतमा लिइएको थियो ।
अभियोजनकर्ताहरूले न्यायिक कार्यमा बाधा पुर्याएको आरोपमा युनलाई १० वर्षको जेल सजाय पनि माग गरिरहेका छन् । सियोलको एक अदालतले जनवरी १६ मा यस मुद्दामा फैसला सुनाउने अपेक्षा गरिएको छ । रासस, एएफपी