लक्ष्मी चौधरी
जनकपुरधाम, पुस १८ गते । मानव बेचबिखन तथा ओसार–पसारको जोखिमबिच भारतको बिहार राज्यका विभिन्न सहरबाट उद्धार गरिएका ७ जना नेपाली बालबालिकालाई नेपाल ल्याई परिवारको जिम्मा लगाइएको छ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्ध र अलपत्र परेका बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था केआईएन इण्डिया, नेपाल प्रहरी र भारतीय सुरक्षा निकायको संयुक्त पहल तथा समन्वयमा ती बालबालिकाको उद्धार गरिएको हो ।
उद्धारपछि गत बुधबार प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा महिला तथा बालबालिकालाई आफन्तको जिम्मा लगाइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मधेश प्रदेश प्रहरीका अनुसार विभिन्न बहानामा भारत लगिएका, घरबाट भागेका वा अलपत्र अवस्थामा फेला परेका ती बालबालिकालाई भारतीय स्थानीय प्रशासनको सहयोगमा बिहार राज्यका विभिन्न स्थानबाट उद्धार गरिएको छ ।
केआईएन इण्डियाका प्रतिनिधि नविन जोशीका अनुसार मधेशका विभिन्न स्थानबाट भिख माग्न लगाउने, बालश्रममा प्रयोग गर्ने तथा झुटो विवाह गराउने उद्देश्यले भारत पुर्याइएको अवस्थामा फेला परेका बालबालिकालाई भारतका स्थानीय प्रहरीसँगको समन्वय, नेपाली राजदूतावास तथा विभिन्न संघ संस्थाको सहयोगमा उद्धार गरी मधेश प्रदेश प्रहरी कार्यालयमा ल्याइएको हो।
मधेश प्रदेश प्रहरी प्रमुख गोविन्द थपलियाका अनुसार उद्धारपछि बालबालिकालाई परिवारको जिम्मा लगाइए पनि उनीहरूको पालनपोषण र शिक्षादिक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषयमा सरोकारवाला निकाय, समाज र घरपरिवारले ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
यसअघि पनि केआईएन इण्डियाको टोलीले मधेश मात्र नभई नेपालको विभिन्न स्थानबाट हराएका, मधेशको भूभाग हुँदै भारतका विभिन्न सहरमा पुगेका वा बन्धक बनाई काममा लगाइएका नेपालीहरूको उद्धार गरी सुरक्षित रूपमा नेपाल फर्काउने कार्य गर्दैआएको छ । उक्त संस्थाले नेपाल प्रहरी तथा भारतीय सुरक्षा निकायसँगको समन्वयमा मानव बेचबिखनविरुद्ध निरन्तर अभियान सञ्चालन गर्दैआएको जनाएको छ ।
मधेश बढी जोखिममा
पछिल्ला वर्षहरूमा मधेश प्रदेशबाट महिला तथा बालिका हराउने घटना गम्भीर सामाजिक समस्याका रूपमा देखिँदैआएको छ । प्रदेश प्रहरी कार्यालय मधेशले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० देखि २०८१–८२ को मङ्सिर मसान्तसम्म हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमध्ये महिला र बालिका सबैभन्दा बढी प्रभावित भएका छन् ।
चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्म मधेशका आठवटै जिल्लाबाट १ हजार ३१० जना हराएकामध्ये १ हजार १९३ जना महिला तथा बालिका रहेका छन् । यस अवधिमा ३६० जना फेला परेका छन् भने ९५० जना अझै सम्पर्कविहीन छन् । बालक ९६ जना र ज्येष्ठ नागरिक २१ जना रहेको प्रहरी तथ्यांकले देखाएको छ ।
यस्तै सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा महिला तथा बालिका हराउने र फेला पारिने संख्या तुलनात्मक रूपमा बढी देखिएको छ । यसैगरी मधेश प्रहरीको त्रिवर्षीय तथ्यांकअनुसार आर्थिक वर्ष २०८१–८२ मा मधेशबाट ३ हजार ३१३ जना हराएकामध्ये २ हजार ९९५ जना फेला परे भने ३२८ जना अझै बेपत्ता छन् ।
यस्तै, २०८०–८१ मा २ हजार ५९३ जनामध्ये २ हजार १८८ जना फेला परेका थिए भने ४०५ जना अझै फेला परेका छैनन् । आर्थिक वर्ष २०७९–८० मा २ हजार ५१२ जना हराएकामध्ये २ हजार ५ जना फेला परे पनि ५०७ जना अझै बेपत्ता छन् । नेपालबाट हराएका महिला तथा बालबालिका भारतमा फेला पर्ने क्रम अझै पनि जारी रहनुले मानव बेचबिखन तथा ओसार–पसारको जोखिम गम्भीर रूपमा कायम रहेको प्रट्याउँछ।
सीमा क्षेत्रमा प्रभावकारी निगरानी, सरोकारवाला निकायबिच सशक्त समन्वय, समुदायस्तरको सचेतना अभिवृद्धि तथा बालबालिकाको शिक्षा र संरक्षण सुनिश्चित नगरेसम्म यस्तो समस्या अन्त्य हुन कठिन देखिन्छ । राज्य, समाज र परिवार सबैले साझा जिम्मेवारीका रूपमा यस विषयलाई लिन अति नै आवश्यक छ ।