मोगादिशु (सोमालीया) पुस १८ गते । सोमालियाको सेनाले देशको मध्य क्षेत्रमा अल शबाबविरुद्ध सैन्य कारबाहीका क्रममा २९ जना अल शबाब लडाकु मारिएको दाबी गरेको छ । विज्ञप्ति जारी गर्दै सोमाली सेनाले राजधानी मोगादिशुको दक्षिण-पूर्वमा रहेको मध्य शाबेल क्षेत्रको जुबाद गुद्नी क्षेत्रमा आतङ्कवादी स्थानलाई लक्षित गरी अपरेसन सरु गरेको बताएको छ ।
अपरेसनमा मारिनेमा वरिष्ठ कमाण्डर र प्रमुख अपरेटिभसमेत रहेको सेनाले जनाएको छ । पछिल्लो हप्तादेखि चलिरहेको अभियानको एक हिस्साको रूपमा अन्तर्राष्ट्रिय साझेदारसँग समन्वयमा अपरेसन गरिएको विज्ञप्तिमा भनिएको छ । सेनाले व्यापक अभियानले अलनाली र हावडलेका क्षेत्र पनि समेटेको उल्लेख गर्दै लगभग १३५ अल शबाब लडाकुको मृत्यु भएको र समूहका धेरै आधार ध्वस्त भएको जनाएको छ ।
अल कायदासँग जोडिएको अल शबाबले एक दशकभन्दा बढी समयदेखि सोमाली सरकारसँग लडिरहेको छ । पछिल्लो समयमा सोमाली सुरक्षा बलले समूहको विरूद्ध तीव्र आक्रमणको एक हिस्साको रूपमा देशको मध्य र दक्षिणी भागका धेरै सहर र गाउँ पुनः कब्जा गरेको छ । रासस/क्यूएनए