नवीनराज कुइँकेल
लमजुङ, पुस १४ गते । लायन्स क्लब अफ लमजुङ बेँसीसहरले बेँसीसहर नगरपालिका–७ स्थित लक्ष्मी बाल मन्दिर विद्यालयका विद्यार्थीलाई जुत्ता–मोजा र टोपी वितरण गरेको छ ।
बेँसीसहर युथ सोसाइटी र युनिभर्सल एकेडेमीको सहयोगमा क्लबले करिब ३५ हजार रुपियाँ बराबरको सामग्री वितरण गरेको हो । विद्यालयका ६२ जना विद्यार्थीलाई ६२ जोर जुत्ता–मोजा र टोपी प्रदान गरिएको लायन्स क्लब अफ लमजुङ बेँसीसहरका अध्यक्ष विमल अधिकारीले जानकारी दिनु भयो ।
लायन्स क्लब अफ लमजुङ बेँसीसहरका अध्यक्ष अधिकारीको अध्यक्षता तथा बेँसीसहर नगरपालिका शिक्षा शाखा प्रमुख सिर्जना पाण्डे चिलुवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख चिलुवालले यस्ता सहयोगले विद्यार्थीको आत्मविश्वास बढाउने र पठनपाठनमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो । उहाँले विद्यालय तहमा गरिएको सानो सहयोगले पनि ठुलो अर्थ राख्ने भन्दै सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्नु भयो ।
त्यसैगरी अध्यक्ष अधिकारीले समाज सेवाको भावनासहित हरेक वर्ष विभिन्न सामग्री सहयोग गर्दै आएको र आगामी दिनमा पनि बालबालिका लक्षित कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । समुदायसँग हातेमालो गर्दै शिक्षा र बाल कल्याणका क्षेत्रमा काम गर्नु क्लबको प्राथमिकता रहेको उहाँको भनाइ छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय सल्लाहकार समितिका अध्यक्ष विमल अधिकारी, क्लबका प्रथम उपाध्यक्ष एवं बेँसीसहर युथ सोसाइटीका अध्यक्ष रविन श्रेष्ठ, र विद्यालयका प्रधानध्यापक समित्र श्रेष्ठलगायतले मन्तव्य राख्नु भएको थियो । जाडो मौसममा जुत्ता–मोजा र टोपी पाएपछि विद्यार्थी खुसी भएका छन् ।