• १४ पुस २०८२, सोमबार

महारानीथान–छाप–डाडाखेत–ठुलोखोला सडकको टुनीखर्क क्षेत्रमा स्तरोन्नति शुरु

blog

म्याग्दी,  पुष १४ गते ।  म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको वैकल्पिक मानिएको महारानीथान–छाप–डाडाखेत–ठूलोखोला सडकको टुनीखर्क खण्डमा स्तरोन्नति थालिएको छ । 

बेनी नगरपालिकाले १८ वर्षअघि मार्ग खुलेको सडकलाई फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान र कालोपत्र गर्न थालेको हो । रु एक करोड ६१ लाख लागत अनुमान गरिएको सडक निर्माणका लागि रु एक करोड १५ लाखमा ठेक्का पाएको शङ्कर निर्माण सेवाले डोजर परिचालन गरेर सडक फराकिलो पार्ने र पर्खाल निर्माण शुरु गरेको छ । 

आगामी जेठ १५ गतेसम्म ठेक्काको म्याद रहेको छ । योजनामार्फत ३५० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र र ४०० मिटर ढलान गरिने बेनी नगरपालिकाका सिनियर सबइञ्जिनियर कमल थापाले बताउनुभयो । उहाँका अनुसार ३५० मिटरमा पक्की नाला र ४०० घनमिटर पलम पर्खाल निर्माण हुनेछ । 

हाल मिटर फराकिलो सडकलाई छ मिटर चौडा पारिनेछ । आर्थिक वर्ष २०६४र६५ मा ‘ट्रयाक’ खोलिएको बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर जोड्ने यो सडक म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक मार्ग भएको बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाले बताउनुभयो । 

रणनीतिक महत्त्वको वैकल्पिक सडक भएकाले बेनीको महारानीथानबाट डाडाबारी–छाप, डाडाखेत हुँदै ठूलोखोलाको विभिन्न ठाउँमा पछिल्लो चार वर्षयता स्तरोन्तिको काम हुँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ म बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको थियो । 

आर्थिक वर्ष २०८१/०८२ मा छाप क्षेत्रमा कालोपत्र भएको सडक गुणस्तरीय नभएपछि मापदण्ड अनुसारको काम गर्न निर्माण व्यवसायीको धरौटी रोक्का गरिएको वडा अध्यक्ष बानियाले बताउनुभयो । त्यसअघिका वर्षमा ठूलोखोलाबाट डाडाखेत खण्डमा घुम्ती र मोड सुधार तथा ढलान भएको थियो । 

बेनी नगरपालिकाले गौरवको आयोजनाका रूपमा महारानीथानबाट छाप हुँदै डाँडाखेततर्फ सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिएको छ । मार्ग खुलेको १८ वर्षपछि पक्की सडक निर्माण हुन थालेकोमा खुसी लागेको स्थानीयबासी भुवन आचार्यले बताउनुभयो । रासस