बिशाल सुनार
दुल्लु, पुस १२ गते । दैलेख जिल्लाकै सदरमुकाम समेत रहेको नारायण नगरपालिका वडा न. १० भवानीमा पर्ने तौलिया गाउँ नगरपालिकाकै उत्तरी शिमाना र सबैभन्दा अग्लो बस्ती हो । विषेश गरी राडीपाखी उत्पादक उद्यमीहरुको गाउँको रुपमा अलग्गै पहिचान बनाएको छ । करिव एक सय घरधुरी रहेको यस गाउँका अधिकांस परिवार राडीपाखी उत्पादक छन् । कम्तिमा २०/२५ देखि एक सयभन्दा बढी भेडा बाख्रा नराख्ने घर नै छैन । गाई, भैंसी, कुखुरा उस्तै उल्लेख्य नै छ ।
वर्षेनी लाखौं रुपिया बराबरको राडीपाखीको कारोबारसँगै भेडा, बाख्राबाट समेत मनग्य आम्दानी गर्दछन् । बहुराष्ट्रिय कम्पनीका उत्पादसँग प्रतिस्पर्धा गर्नु कठिन हुने मात्र हैन आवश्यकता अनुसार उत्पादनको मूल्य समायोजन नहुनु, बजारीकरण नहुनु, समयानुसार यान्त्रिकरण गर्नमा कुनै ठोस कदम चल्न नसक्दा उद्यमीहरुमा निरासा बढ्दो छ ।
बलियो, आकर्षक र स्वास्थ्यवर्धक हुने भएकाले पनि विश्व बजारमा माग उच्चनै हुन्छ । ब्राण्डिङ गर्न सके उच्च मूल्य, माग हुने बस्तु हो । पूर्ण रुपमानै स्थानीय कच्चा पदार्थमा आधारित भएकाले पनि उद्यमशिलता विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । बलियो र किफाएती उत्पादन भएकाले पनि सामान चिन्नेलाई बुझाउनु पर्दैन ।
परम्परागत शैलीबाटै उत्पादन गर्ने गरिएको छ । अहिलेसम्म पनि हात बटाउनको लागि यथोचित पहल कहि कतैबाट पनि हुन सकेको छैन । श्रम, मिहेनत, उत्पादनहरु गाउँमै थन्किने गरेको छ । “उत्पादन नगरौं यहि काम गर्दै पुस्तौ बितिसक्यो, बानी भइसक्यो स्थानीय उत्पादक लिलाबहादुर बस्नेतले बताउनुभयो । “भेडाबाख्रा पाल्नै पर्यो, हेरबिचार गर्ने पर्यो, समान लिएर धेरै टाढा जान सक्दैनौं,” अर्का उद्यमी तुलबहादुर बस्नेतले भन्नुभयो । अगाडि थप्दै थप “शिप, उपकरण, बजारीकरण गरिदिएको भए हामीलाई सहज हुने थियो, सरकारको ध्यानै छैन । उत्पादन गरौं कहाँ गएर बेच्ने ? कसरी बेच्ने ? मूल्य समायोजन कसरी गर्ने भन्नेमा अन्योल छौं ।”
राडीपाखी उत्पादक उद्यमीहरुलाई अनुदान, सहुलियतको ऋण, यान्त्रिकरण, प्रविधि, शिपसँगै बजारीकरणमा यथोचित कदम चाल्नै पर्ने टट्कारो आवश्यकता छ । आन्तरिक उत्पादन र बजारीकरणसँगै औधोगिकिकरण गर्न सके उद्यमीलाई मात्र हैन पालिकालाई समेत राजस्व वृद्धि गर्न सक्ने सम्भावना राख्दछ । यस तर्फ ध्यान दिन उहाँको जोडदार माग छ ।